सबै पूर्वमाओवादीहरु एक ठाउँमा आउने वातावरण बनेको छ : प्रचण्ड
  • मूलधार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीहरु एक ठाउँमा आउने वातावरण बनेको बताएका छन्। आइतबार नेपाल राष्ट्रिय कर्मचारी महासंघ केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरु एकताको शृंखला पार गरेर यहाँ आइपुगेको बताए।

‘स्वयं हाम्रो माओवादी आन्दोलनभित्र पनि विभाजनको शृंखला र एकताको नयाँ प्रक्रिया हुँदै अबचाहिँ करिबकरिब कस्तो ठाउँमा आइपुगेका छौँ भने सबै पूर्वमाओवादी भन्ने जति एक ठाउँमा आउने वातावरण बनेको छ। अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ। छिट्टै त्यो टुंगोमा पुग्दैछ’, उनले भने।

प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन चाहने प्रवृत्ति अहिले पनि सक्रिय नै रहेको बताए। कर्मचारीतन्त्रभित्र उपल्लो तहका कर्मचारीहरुमा यो संघीयता या संघीय निजामति ऐनलाई अगाडि बढाउने कुरा या वृत्ति विकाससँग सम्बन्धित नयाँ प्रक्रियादलाई सम्बोधन हुन नदिने प्रवृत्ति रहेको उनको भनाइ छ। ‘प्रकारान्तरले अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्रलाई, मुख्यगरी संघीयतालाई कमजोर पार्ने र उल्ट्याउन खोज्ने प्रवृत्ति अहिले पनि कामयै छ’, उनले भने।

उनले कर्मचारी, राजनीतिक दल, नागरिक समाज सबै आम जनता सबै मिलेर लडेर ल्याएको यो परिवर्तनलाई नरुचाउने वर्ग र तत्वहरु अहिले पनि यसलाई उल्ट्याउन सकिन्छ कि भनेर बल गरिरहेको बताए। आफूहरु परिवर्तनलाई संस्थागत गर्दै त्यसमा टेकेर अझ अगाडि जाने, संविधानलाई पनि अझ परिमार्जित गर्ने, आवश्यक ऐनहरु समयमै निर्माण गर्ने र संघीयता र लोकतन्त्रलाई संस्थागत गर्ने प्रयासलाई तीव्रता दिने संघर्षमा रहेको उनले बताए।

  • June 19, 2022 प्रकाशित
  • सम्बन्धित