काठमाडौं । कपाल पसिनाले भिजेको छ । टिसर्ट पनि निथ्रुक्क भिजेको छ, हिलो लागेको छ । हातले बेल्चा समातेर माटो उठाइरहेका छन् । उनका अघि पछि स्थानीयवासीहरु पनि सँगै श्रममा खटिएका छन् । स्थानीय सँगै सँगै खट्ने ती व्यक्ति उनी हुन्, धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ अर्थात् हर्क साम्पाङ अ रिभोलुसन ।
मेयर हर्क साम्पाङ अहिले फिल्डमा व्यस्त छन् । उनी अफिस होइन खानेपानीको मुहान कता कता छ भनेर खोज्दै मात्र हिँडिरहेका छैनन्, धरानवासीको धाराबाट पानी खसाल्नकै लागि दत्तचित्त भइ लागिपरेका छन् । उनलाइ कुनै बारले छोएको छैन, शनिबार पनि उनी कार्यतालिकाअनुसार फिल्डमा खटिएका छन् । अझ भनौँ चुनावी घोषणापत्रअनुसार नै हर्क साम्पाङ दैनिक खटिरहेका देखिन्छन् । चुनावी घोषणापत्रमा उनको पहिलो प्राथमिकता धराने जनतालाई खानेपानी दिलाउने प्रतिबद्धता छ । त्यसपछि जनताको उपचार गर्ने थलो, विपी अस्पताल सुधार ।
‘विपी अस्पतालभन्दा पहिलो प्राथमिकता खानेपानी नै हो किनकि स्वस्थ हुन खानेपानी चाहिन्छ, बिरामी भएर विपी अस्पताल जाने हो,’ हाँस्दै उनी भन्छन् । उनका अनुसार यसो भन्नुको मतलब विपी अस्पताललाई चाहिँ प्राथमिकता नदिने होइन, पानी मानिसको स्वास्थ्य र दैनिक जीवनसँग गाँसिएको छ ।
अहिले हर्क साम्पाङ पहिलो खानेपानी र दोस्रोमा विपी अस्पताल सुधारको मुद्धा र उद्धेश्य बोकेर हिँडेका छन् । विपीमा पनि के के सुधार गर्ने भन्ने विषयमा छलफल र अनुसन्धान गर्न बाँकी रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘विपी अस्पताल नगरको मातहतमा मात्र पर्दैन । नगरको क्षेत्रभित्र पनि पर्छ तर, डाइरेक्ट संघीय सरकारद्वारा सञ्चालित छ त्यसैले गहन अध्ययन जरुरी छ ।’
शालीन, बौद्धिक, कर्मशील, लगनशील, जनताप्रेमी हर्क साम्पाङलाई हेर्दा, नियाल्दा जस्ता देखिन्छन् त्योभन्दा ज्यादा उनका आनीबानीले जनताको मन जितिरहेको छ । पद र जिम्मेवारीले मेयर उनी न कुनै टाइसुट न त कुनै दौरा सुरुवालमा ठाँटिएर हिँड्छन् । सामान्य पोशाक लगाएर ज्यामीझैँ उनी हातमा औँजार लिएर फिल्डमा खटिइरहेका छन् ।
शनिबार बिदामा पनि आफैँ धरान वडा नं २० स्थित पकुवा खोलाको मुहान मर्मत गर्न हातमा बेल्चा लिएर खटिएका हर्क देश विकास ठूलो होइन सानो कदमबाटै सम्भव रहन्छ भन्नेमा दृढ छन् । उनी कुनै ठेकेदार, नेता, कर्मचारीले गर्छ भन्नेमा ढुक्क छैनन् किनकि बोलीले देश बन्दैन श्रम नै खाँचो रहेको उनी बताउछन् । कोही कसैले बनाइदिन्छ कि भनेर आशा हेरेकैले देश बिग्रिएको र नगरको विकासमा सघाउन, होमिन धरानेवासीलाई उनको अनुरोध छ ।
सप्तरी नदीबाट ल्याएर मात्र धरानेबासीलाई पानीको काकाकुलबाट मुक्त गर्न सकिने र अहिले तत्काललाई आँपगाछी, खर्दुखोलालगायत खोलाबाट पनि धरानमा पानी ल्याएर खानेपानीको हल केही हदसम्म गर्न सकिने अभियानका साथ आफैँ बेल्चा बोकेर फिल्डमा छन् ।