एकीकृत समाजवादीले बजेट पारित भएलगत्तै पूराना मन्त्री बोलाएर नयाँ मन्त्री पठाउने
  • मूलधार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसद्बाट बजेट पारित हुनेबित्तिकै बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने भएको छ । बुधबार स्थायी कमिटीको बैठकमा नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले बजेट अनुमोदन भएलगत्तै मन्त्री परिवर्तन हुने जानकारी दिएका हुन् ।

स्थायी कमिटीको बैठकपछि पत्रकारसँगको कुराकानीमा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने सचिवालयको निर्णयलाई स्थायी कमिटीले अनुमोदन गरेको पनि जानकारी दिएका छन् ।

हाल देउवा सरकारमा नेकपा (एस)बाट स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, श्रम, रोजगा तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ रहेका छन् । पाँचमध्ये खापुङलाई स्वास्थ्य मन्त्रीमा बढुवा गरेर ४ जनालाई सरकारबाट फिर्ता बोलाउने यसअघि नै निर्णय भइसकेको छ ।

अब नेकपा (एस) बाट नयाँ बन्ने मन्त्रीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, श्रममन्त्रीमा शेरबहादुर कुँवर, सहरी विकासमन्त्रीमा मेटमणि चौधरी र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसी रहेका छन् । उनीहरुलाई यसअघि नै नयाँ मन्त्री बनाउने भनेर अध्यक्ष नेपाल स्वयं सिफारिस पत्र लिएर प्रधानमन्त्रीनिवास बालुवटार पुगेका थिए ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित नभई मन्त्री फेरबदल गर्न नमिल्ने भन्दै सिफारिस पत्र तत्काललाई थाँती राखेर बजेट पारित भएपछि मन्त्री हेरफेर बचन दिएका थिए ।

  • June 15, 2022 प्रकाशित
  • सम्बन्धित