सैन्य सम्झौताका लागि अमेरिकाको ताकेता, प्रधानमन्त्री देउवा सकारात्मक
  • मूलधार

काठमाडौं । नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित भएसँगै अमेरिकाले सैन्य सहकार्यसम्बन्धी सम्झौताका लागि ताकेता गरेको छ । पाँच वर्ष अघिदेखि अमेरिकाले सैन्य सम्झौताका लागि ताकेता गर्दै आएको थियो ।

अहिले पुनः अमेरिकाले सैन्य समझदारीपत्रमा हस्ताक्षर गर्न जोड गरेको छ । यूएस आर्मी प्यासिफिकका कमान्डर जर्नेल चाल्र्स ‘ए’ फ्लिनले नेपालमा भएका उच्चस्तरीय भेटवार्तामा अमेरिकी सेनाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी)मा नेपाली सेनाले हस्ताक्षर गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भएका भेटमा उनले एसपीपीलाई चाँडै टुंग्याउन आग्रह गरेका छन् । स्रोतका अनुसार देउवाले प्रमुख राजनीतिक दलहरूलाई सहमतिमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । देउवा सो सम्झौताको विषयमा सकारात्मक भइसकेका छन् तर नेपाली सेना भने अहिले नै सम्झौताको गर्ने विषयमा भने सहमत भइनसकेको स्रोतले बतायो ।

सो प्रस्तावको विषयमा यसअघि पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले अमेरिकालाई जवाफ पठाए पनि हस्ताक्षर गर्ने विषयमा चासो देखाएको थिएन । किनकि अमेरिकाको सैन्य रणनीति ‘इन्डो प्यासिफिक स्ट्राटेजी’को हिस्साका रूपमा रहेको स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल सहभागी हुँदा नेपालको असंलग्न विदेश नीतिको उल्लंघन हुने बुझाइ ओली सरकारको थियो ।

तर, एकाएक देउवा सरकार नेतृत्वमा आएपछि अमेरिकासँग एमसीसी सम्झौतादेखि असंलग्न परराष्ट्र नीतिसमेत तोडिने काम भएकोमा परराष्ट्र विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । सन २०१८ डिसेम्बरमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अमेरिका भ्रमणपछि अमेरिकी विदेश मन्त्रालयले निकालेको वक्तव्यमा ‘इन्डो प्यासिफिक स्ट्राटेजीमा नेपालको केन्द्रीय भूमिका’मा छलफल भएको’ उल्लेख गरेपछि तरंग ल्याएको थियो ।

जसको जवाफ तत्कालीन परराष्ट्रमन्त्री ज्ञवालीले पटकपटक दिनुपरेको थियो । अमेरिकाको तत्कालीन ट्रम्प प्रशासनले चीनलाई सैन्य रूपमा घेराबन्दी गर्ने उद्देश्यले सो रणनीति ल्याएको घोषणा गरेको अवस्थामा नेपाल थप संकटमा पर्ने सक्ने अवस्था देखिएपछि सम्झौतामा हस्ताक्षर गर्ने विषयमा तत्कालीन ओली सरकार पछि हटेको थियो ।

छिमेकी चीनसँगको पारस्परिक सम्बन्धसँगै भूराजनीतिक रूपमा पनि अप्ठ्यारो पर्न सक्ने अवस्था थियो । साथै चीनले पनि अमेरिकी गतिविधि नजिकबाट हेरिरहेको र चेतावनीसमेत दिँदै आएको थियो । यसअघि सन् २०१५ मा पहिलोपटक अमेरिकी सेनाले स्टेट पार्टनरसिप कार्यक्रममा नेपाली सेनाको सहभागितासम्बन्धी रणनीतिक महत्वको समझदारीपत्र प्रस्ताव गरेको थियो । यो खबर आजको राजधानी दैनिकबाट सभार गरिएको हो ।

  • June 14, 2022 प्रकाशित
  • सम्बन्धित