सांसदहरु मल माग्ने, मन्त्रीचाहिँ निदाउने !
  • मूलधार

काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुको एउटै स्वर थियो–मल आजै चाहियो, अहिल्यै चाहियो ।’ ‘मानो छरेर मुरी उब्जाउने समय’मा किसानहरुलाई मलबाट बञ्चित गर्न नहुने भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराए ।

संसद्मा सांसदहरु दुई कित्तामा उभिएका थिए । प्रमुख प्रतिपक्षल दलका सांसदहरुले सरकारले मलको आपूर्ति गर्न नसकेको भन्दै कडा आलोचना गरे भने सत्ता गठबन्धन दलका सांसदहरुले सरकारले मल आपूर्ति गर्नुपर्ने सवाल महत्वपूर्ण रहे पनि विनियोजन विधेयकमाथि छलफल भइरहेका बेला त्यसलाई रोकेर उक्त प्रस्ताव ल्याउनु सान्दर्भिक नरहेको बताए ।

कस्ले के भने ?

एमाले सांसद खगराज अधिकारीले मुलुकलाई अहिले नै तत्काल मल चाहिएको भन्दै सरकारको आलोचना गरे । उनले भने, ‘हमीलाई मल आजै चाहियो किसानलाई खेतमा हाल्न अहिल्यै चाहियो ।’

सांसद मीन विश्वकर्माले मल समयमा किसानले पाउनुपर्नेमा जोड दिँदै विगतमा अनियमितताको आशङ्कामा अख्तियारले पत्र काटेकाले कृषि सामग्री संस्थानले टेण्डर रद्द गरेको बताए । सांसद पार्वती डिसी चौधरीले किसानले समयमा मल पाएन भने उनका परिवार समस्यामा पर्ने भन्दै समयमा मल उपलब्ध गर्नु पर्नेमा जोड दिए।

सांसद डिला सङ्ग्रौलाले सरकारले भारत सरकारसँग सम्झौता (जिटुजी) गरी मल ल्याउनुपर्नेमा जोड दिइन् । सांसद गोपालबहादुर बमले किसानले मल नपाउने समस्या सबै दलको साझा समस्या भएकाले एकजुट हुनुपर्ने विचार व्यक्त गरे। सांसद लक्ष्मी परियारले प्रत्येक वर्ष मलको अभाव हुँदै आएकोले यो समस्याको हल गर्न सरकार संवेदनशील हुनुपर्ने बताइन्।

सांसद गणेशकुमार पहाडीले जनताले रोपेको धान नफल्ने र रोप्न नपाइने भन्दै चिन्ता गरेकाले दीर्घकाल समाधानका लागि मल उद्योगको विकल्प नै नभएको बताए। सांसद नरबहादुर धामीले ६० प्रतिशत किसान भएको मुलुकमा कूल गार्हस्थ्य उत्पादन २५ प्रतिशत रहेको भन्दै दुःख व्यक्त गरे ।

मलको विषयमा गहन छलफल हुँदै गर्दा मास्क लगाएर निदाएका कृषिमन्त्री यादव

सांसदहरु कराउने, मन्त्री निदाउने

संसद्मा सांसदहरु मलको हाहाकार अन्त्य गर्न सरकारलाई घचघच्याउँदा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव भने निदाएका थिए । मलको विषयमा गहन छलफल हुँदै गर्दा मास्क लगाएर बसेका कृषिमन्त्री यादव निदाइरहेका थिए ।

  • June 13, 2022 प्रकाशित
  • सम्बन्धित