डलको भाउ बढेको बढ्यै
  • मूलधार

काठमाडौं । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) हालसम्मकै बलियो बनेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २४.७३ रुपैयाँ (विक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो ।

यसअघि यही जेठ ६ मा अमेरिकी डलरको भाउ १ सय २४.६७ रुपैयाँ पुगेको थियो । त्यसयता बुधबार एक अमेरिकी डलरको विनिमय दर १ सय २४.६८ रुपैयाँ (बिक्री दर) तोकेको छ । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकोमा पछिल्ला दिनमा लगातार बढिरहेको छ । सोही क्रममा शुक्रबार डलरको भाउ पुनः नयाँ उचाइमा पुगेको हो ।

गत असारको तुलनामा चैतसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.०४ प्रतिशतले कमजोर (अवमूल्यन) भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.४८ प्रतिशतले बलियो (अधिमूल्यन) भएको थियो ।

पछिल्ला ४ वर्षमा अमेरिकी डलर भाउ करिब २३ रुपैयाँ बढेको छ । डिसेम्बर २०१७ मा एक अमेरिकी डलरको भाउ १०२ रुपैयाँ मात्रै थियो । विश्वबजारमा अमेरिकी डलरको माग अकासिएपछि भाउ पनि बढेको जानकारहरू बताउँछन् । पछिल्लो समयमा गत वैशाख २७ देखि अमेरिकी डलरले हरेक दिनजसो नयाँ रेकर्ड बनाउन थालेको हो । त्यसअघि गत फागुन २४ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २३.४४ रुपैयाँ र २०७७ वैशाख १० मा १ सय २३.२४ रुपैयाँसम्म पुगेको थियो ।

पछिल्ला केही महिनायता विश्वबजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागेको हो । त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको जानकारहरूको भनाइ छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो ।

बुधबार साँझसम्म एक अमेरिकी डलरको विनिमय दर भारु ७७.७२ छ । दुई दिन अघि (जुन ६ तारिख) अमेरिकी डरलको विनिमय दर हालसम्मकै उच्च भारु ७८.०६ पुगेको थियो । पछिल्ला महिनामा अमेरिकी अर्थतन्त्रको सुधार तीव्र गतिमा भइरहेको छ ।

  • June 10, 2022 प्रकाशित
  • सम्बन्धित