पढेको कुरा याद गर्ने अत्यन्त सरल उपाय जान्नुहोस्
  • मूलधार

दिमाग तिखो बनाउने अभ्यास एक वा दुई दिन गरेर पुग्दैन, छोटो समयको अभ्यासबाट कुनै चमत्कार हुँदैन । अभ्यास त निरन्तर गरिरहनुपर्छ जबसम्म दिमाग अत्यन्त संवेदनशील र प्रखर बन्दैन, जबसम्म आवश्यक कुरा सहजै याद गर्ने दिमागको स्वभाव बन्दैन ।

स्मरण शक्तिको विकासमा रुचिको ठूलो महत्व र प्रभाव हुन्छ । जुन विषयमा हाम्रो रुचि हुन्छ, त्यहिँ विषयमा हामी ध्यानमग्न हुन पुग्छौँ । ध्यानमग्न भएर पढेको वा सुनेको कुरा नै दिमागमा सधैँ रहिरहन्छ । यसरी दिमागमा संग्रह गरिएको कुरा चाहेको बेला सजिलै याद आउँछ ।
जीवनमा ध्यान जति गहन हुन्छ, त्यति प्रत्येक कार्यप्रति सजगता हुन्छ र सक्रिय उपस्थिति । अध्ययनको बेलामा सजगता र सक्रिय उपस्थिति अपरिहार्य अर्थात् नभइ नहुने कुरा हुन् । कोठामा पढ्न बसेको छ तर ध्यान बाहिर चौरमा फुटबल खेलिरहेको ठाउँमा पुगेको छ भने के पढिएको हो त्यो सम्झन सकिन्छ र ?यस्तो बेलामा पढेको वा सुनेको कुरा या त कान भित्रै छिर्दैन, कदाचित छिरिहालेमा पनि एउटा कानबाट छिर्छ र अर्काेबाट निस्केर जान्छ ।

अतः पढ्ने वा सुन्ने बेला जहाँ हुनुहुन्छ, मन पनि त्यहिँ केन्द्रित गर्नुहोस् । मनको गति अत्यन्त चञ्चल र द्रुत हुन्छ । मनः शीघ्रतर वाचाच्चिन्ता बहुतरी तृणात अर्थात् मन हावाभन्दा चञ्चल र शीघ्रमा हुन्छ, चिन्ता घाँसभन्दा धेरै हुन्छ भन्छन् । त्यसैले जे गरेर भए पनि मनलाई अन्यत्र भौंतारिन नदिनुहोस् । मनलाई कसरी कन्ट्रोल गर्ने वा एकाग्र बनाउने भन्ने बारेमा केही सजिला उपाय छन्, पछिका अध्यायमा चर्चा हुनेछ, त्यो राम्ररी पढ्नुहोला, मनन गर्नुहोला ।

यसरी वास्तवमै एकाग्र हुनुहोस् र सकेसम्म धेरै इन्द्रियहरुलाई त्यसमा संलग्न गराउनुहोस् । पढेको वा सुनेको कुरा लेख्नुहोस्, लेखेपछि त्यसलाई हेर्नुहोस्, फेरि लेखेको सबै चर्काे चर्काे स्वरमा पढ्नुहोस् । यसप्रकार जति धेरै इन्द्रियलाई हामीले संलग्न गराउँछौँ, पढेको कुरा त्यति नै राम्ररी याद गर्न सकिन्छ ।

पढेको कुरा बिर्सनु मस्तिष्कको कमजोरी होइन । विस्मृति हुनु त पढेको कुराप्रति सकारात्मक लगाव नभएर हो । जे काम गरिन्छ, त्यसमा चुर्लुम्म डुब्नु रअरु सम्पूर्ण कुरा भुल्नु नै पढ्नेलगायत हरेक काम सफलतापूर्वक सम्पन्न गर्ने वैज्ञानिक विधि हो ।

यसका साथै सम्झनको लागि पढेको वा सुनेको कुरालाई बारम्बार पुनरावृत्ति गरिरहनु अत्यावश्यक छ । जोन लक भन्छन्, ‘अध्ययनले दिमागमा ज्ञानका कुराहरुको संग्रह मात्रै गर्दछ, पुनर्विचार गरेर अर्थात् पढिसकेपछि त्यसको बारेमा सोचेर मात्र त्यसलाई हामीले आफ्नो ज्ञान बनाउँछौँ । यसरी आफ्नो भइसकेको ज्ञान मात्र आवश्यक परेको बेलामा स्मरण हुन्छ, सम्झना आउँछ ।’

त्यसैले हामीले पढ्नमा जति समय खर्च गर्छाैं त्यसको कमसेकम आधा अर्थात् ५० प्रतिशत समय हामीले के पढ्यौँ भनेर सोच्नमा लगानुपर्छ । यहिँ उचित अभ्यास हो । अनभ्यासे विषं विद्या अर्थात् अभ्यास गरिएन भने विद्या विष समान हुन्छ । घैंटो आधा मात्र भरिन्छ । र आधा घडा धेरै छचल्किन्छ ।

पढेको कुरा याद गर्ने बानी बसाल्नुपर्छ । यो पनि एउटा कला हो । अभ्यास गरिरहेमा याद गर्ने कलामा पनि पोख्त हुन सकिन्छ । स्मरण शक्तिको बारेमा आजसम्म गरिएको अनुसन्धानले के देखाएका छन् भने पढेको पाँच मिनेट भित्रमा हामीले ग्रहण गरेको अधिकांश सूचना विस्मरण हुन्छ, दिमागबाट हराउँछ । र एक दिन बितेपछि ९० प्रतिशत सूचना गुम्छ ।

विस्मरणको गति यति तीव्र हुन्छ । तर हामीले यो गतिलाई उल्टाउन सक्छौँ, त्यो पनि पढेको कुरा याद गर्ने अत्यन्त सरल उपाय अपनाएर । यसैकारण पढेको सूचना वा ज्ञानका बारेमा पढिसकेपछि सोच्ने बानी बसाल्नु अत्यावश्यक छ । जब हामीले केही सूचना ग्रहण गर्छाैं भने त्यतिखेर हामीले आफूलाई ग्रहण गरेको कुरामा सकेसम्म धेरै संलग्न गराउनुपर्छ । अर्थात् याद गरेर, लेखेर, आवाज निस्कने गरी पढेर वा अन्य कुनै उपायद्वारा हामीले त्यो सूचनासँग खेल्नुपर्छ । -स्मरण शक्ति पुस्तबाट

  • June 10, 2022 प्रकाशित
  • सम्बन्धित