मन्त्री बनेनन्, दुई दिनसम्म बधाई र शुभकामनाको भारी !
  • मूलधार

काठमाडौं । आइतबार नेकपा एकीकृत समाजवादी (एस) ले हाल बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन बालुवाटार पत्र पठायो । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल स्वयं पत्र बोकेर बालुवाटार पुगेको नयाँ मन्त्री बन्न लागेकाहरु त्यसै खुसी नै देखिए ।

बालुवाटार पुगेको नयाँ मन्त्रीहरुको नाम क्रमश : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई सिफारिस गरिएको थियो । यस्तै, खापुङलाई स्वास्थ्य राज्यमन्त्रीबाट मन्त्रीमा नियुक्ती गरिएको थियो ।

पूराना मन्त्री बोलाएर नयाँ मन्त्री नियुक्ति गर्न लागेपछि बन्न लागेका नयाँ मन्त्रीहरुको फोटो फेबुकमा पोष्ट्याउँदै बधाई र सफल कार्यकालको ओइरो लाग्यो । नयाँ मन्त्री बन्न लागेका फेसबुक बधाइसहितका शुभकामनाले भरिए । कतिले त मन्त्रीको कोट पाइन्ट सिलाएर सपथ ग्रहणका लागि तयार भएको खबर पनि आए ।

तर, आइतबार साँझ नै हुने भनिएको नयाँ मन्त्रीहरुको सपथ कार्यक्रम भएन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ मन्त्रीको नाम मात्रै पुग्यो । आइतबार नभए पनि सोमबार त होला भन्ने फेरि हल्लीखल्ली भयो ।

सोमबार बिहान पाँच दलीय गठबन्धन दलका शीर्ष नेताहरुबीच यस विषयमा बैठक बस्यो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न तयार भएनन् । यसअघि नै नेकपा (एस) बाट फिर्ता हुने भनिएका बहालवाला मन्त्रीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटिसकेको थियो । प्रचण्ड पनि सहमत देखिएनन् ।

बैठकमा प्रधानमन्त्री देउवाले भर्खरै बजेट आएको र यस विषयमा प्रतिनिधिसभामा छलफल चलिरहेको अवस्थामा मन्त्री हेरफेर गर्नु ठीक नहुने बताए । नयाँ मन्त्री हेरफेरको कदमले बजेटमा असर पर्ने देखिएपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन गर्न नहुने उनको भनाइ थियो ।

यससँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङको पद यथावत रहेको छ ।

यसअघि नेकपा एसले भवानी खापुङबाहेक बहालवाला ४ मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्न भनिएकाहरुको ढोका तत्काललाई बन्द भएको छ । तैपनि उनीहरुले अहिलेसम्म बधाई र शुभकामना भारीका भारी पाएका छन् ।

  • June 6, 2022 प्रकाशित
  • सम्बन्धित