बुटवल उपमहानगरपालिका : एमालेको गढमा कांग्रेसले झण्डा फहरायो
  • मूलधार

बुटवल । बुटवल उपमहानगरपालिकाको (प्रमुख) मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्‍डेय निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बाबुराम भट्टराईलाई ७,५३३ मतान्तरले पराजित गरेका हुन् ।

पाण्डेयले ३०,१३० मत ल्याएर विजयी भएका छन् भने भट्टराईले २२५९७ मत ल्याएर चित्त बुझाउनुपर्यो । २०७४ को स्थानीय निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डे यसपटक भाग्यमानी साबित भए । उनले एमालेका भट्टराईलाई ७५३३ मतान्तरले पराजित गरेका हुन् ।

उपप्रमुख (उपमेयर) तर्फ एमालेकी सावित्रादेवी अर्यालले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार चीनबहादुर गुरुङलाई पराजित गरेका हुन् । अर्यालले २४,९०४ मत ल्याएर विजयी हुँदा गुरुङले १६,९८० मत ल्याउन सफल भए ।

एमालेको गढ भनेर चिनिने बुटवललाई यसपाली कांग्रेसको झण्डा फहरिएको छ । २०५४ सालदेखि निरन्तर एमालेले बुटवलमा राज गर्दै आएको थियो तर यसपटकको स्थानीय तहको निर्वाचनमा एमालेलाई पाँच दलीय गठबन्धन मिलेर लालकिल्लामा कांग्रेसको झण्डा फहराउन सफल भएको छ ।

बुटवल एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर पनि हो । सबैजसो चुनावमा एमालेले जित्दै आएकोमा यसपटक कांग्रेसले झण्डा फहराएको छ ।

  • May 21, 2022 प्रकाशित
  • सम्बन्धित