‘फुच्चे’ बालेनको लौरो
  • रुम्दाली साइलो

काठमाडौं । ‘लौरो’ के हो ? बहुभाषिक देशमा सबैको आ–आफ्नै खाले बुझाई, व्याख्या विश्लेषण छ तर अर्थचाहीँ उहिँ । विशेषगरी शारीरिक रुपमा अशक्त, अपांग वा वृद्धवृद्धाको पर्यायवाचीका रुपमा चिनिन्छ ‘लौरो’ अर्थात् लठ्ठीलाई ।

सामान्य रुपले हेरिने यो लठ्ठी अहिले मामुली लठ्ठी ठहरिएन, जादुयी लौरो पो रहेछ ! अर्थात् ‘बाआमालाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने ।’ धुलोमैलो र धमिलो देशको सङ्लो तस्वीर फेर्न चाहने यो लौरो अहिले साँच्चिकै रफ्तारमा छ ।

धरानदेखि पोखरा, पोखरादेखि काठमाडौं । चियाघरदेखि तरकारी बजार । भनौँ, सडकदेखि सदसम्म । यी सबै ठाउँमा एउटै वस्तुको चर्चा छ, त्यो हो लौरो । आखिर लौरो किन यति धेरै लोकप्रिय छ ? सबैको जिब्रोमा मीठो मीठो खान्कीको नाम उच्चारणभन्दा पनि लौरो नै झुण्डिएको छ । आखिर सबैको मन, मस्तिष्क र जिब्रोमा लौरो नै किन टाँसिएको छ त ? जे छ लौरोमय छ अहिले नेपाल ।

धरानमा लौरो भनेपछि र्हक साम्पाङ, पोखरामा गनेश पौडेल, काठमाडौंमा बालेन । लौरो भनेपछि यी तीनैको अनुहार सबैको आँखाअगाडि उभिन्छ । तर, यी तीनै लौरोको फरकफरक विम्व छ । धराने लौरोभित्र धरानेवासी, पोखरेली लौरोभित्र पोखरेलीवासी, काठमाडौंको लौरोभित्र काठमाडौंवासी । अझ भनौँ, आलु उहिँ तर त्यसको आकार, बनावट र स्वादचाहिँ फरक । छान्ने, मनपराउने र मन नपराउने काम अरु (जनता) को । अहिलेलाई स्वाद चाखौँ काठमाडौं आलुको ।

२०७९ वैशाख ३० गते ७५३ स्थानीय तहको निर्वाचन भयो । अझैँ पनि विभिन्न स्थानीय तहमा मतगणना जारी छ, सकिएको छैन । निर्वाचन हुनु एक साताअघि देशको गतिविधि विगतजस्तै ठीकठाकै चलिरहेको थियो मतलब एक पार्टीले अर्काे पार्टीको खोइरो खन्ने काम । तर, निर्वाचनको मौनअवधि सुरु भएपछि एकाएक एउटा युवकको कोट, कालो चस्मा र लौरोले बजारमा तहल्का मच्चायो । तहल्का पिट्नुपर्ने समय थियो मौन अवधिपछि बाक्सामा खसेको मत गणनामा तर भोटै नखसी कोट र कालो चस्माधारी युवक एकाएक चर्चामा आए । ती युवकले कोट र चस्मासहित काँधमा लौरो पनि भिरेका थिए ।

उनी थिए र्यापर बालेन्द्र शाह उर्फ बालेन । गीतसंगीतमा झुमेको, झुमाएको ठिटो राजनीतिमा (ख्यालठट्टा गर्दै) ! यसरी ठूला दलका शीर्ष नेताहरुले त उनलाई बालै दिएनन् । गन्दै गनेनन् । नगन्नु सामान्य नै थियो बालेन उनीहरुका न कार्यकर्ता न कुनै नातेदार । तर, उनीहरुबाटै चयन भएर मेयरको उम्मेदवार बनेकाहरुले बालेनलाई ‘फुच्चे’ भनिदिए । नामै तोकेर भन्नुपर्दा नेकपा एमालेबाट काठमाडौं महानगरमा मेयरको उम्मेदवार बनेका केशव स्थापितले त अन्तर्राष्ट्रिय ठग, गैरमधेसी शाह, लास्टमा फुच्चे भनेर भनिदिए ।

वैशाख ३० गते मतदान भयो । मतदान सकियो, मतगणना सुरु भयो । फुच्चे उम्मेदवार भनिएका बालेनले भोटले स्थापितलाई पुर्न थाल्दै थिए । उता, स्थापित भने आफू होटेलमा मस्त सुत्दै अर्केस्ट्राको पर्खाइमा रहेको सुनाउदै थिए । अर्केस्ट्राको पर्खाइमा बस्दा बस्दै उनी झस्किन थाले– खै त सुरु भएन नि अर्केस्ट्रा ?

त्यसपछि उनी भन्न थाले कोर एरियामा प्रवेश गरेपछि हेरौँला फुच्चे ? कोर एरिया प्रवेश भयो । तर आफैँले आफैँलाई मतदान गरेको केन्द्रमै फुच्चे बालेनले गुजुल्टाएर मिल्काए । अनि झस्किन थाले स्थापित । भदौरे भेल भएर कुर्लने उनी अहिले समुद्रजस्तै सुनसान छन्, कतै देखिएका छैनन् । म्युजिक एरेन्जर आइवरी अर्केस्ट्रा सुरु भएर सकिन लागिसक्यो तर स्थापित अझैँ आफ्नो उपस्थितिबिनाको अर्केस्ट्रा सुरु भएको ठान्दैनन् । सायद स्थापितलाई त्यहिँ झलझली याद आइरहेछ– उस्को जिउमा मेरो टाउँको राखेर लौरोमा भोट रे ! कस्तो बेकुब मान्छे, गेम इज ओभर !

  • May 20, 2022 प्रकाशित
  • सम्बन्धित