मतपेटिका लुटेर खेतैखेत भाग्ने मुख्य अभियुक्त ३० महिना जेल बसेका पूर्वप्रहरी !
  • मूलधार

रौतहट । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको क्रममा मतपेटिका लुटेर भाग्ने मुख्य अभियुक्तको पक्राउसँगै पहिचान भएको रौतहट प्रहरीले जनाएको छ ।

जिल्लाको यमुनामाई गाउँपालिका वडा नं. २ स्थित श्री मा.वि. भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रमा विवाद हुँदा मतपेटिका नै लुटेर भाग्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेका छन् ।

को हुन् त बैठा ?

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिएअनुसार पक्राउ परेका बैठा पूर्वप्रहरी हुन् । र, उनी नै घटनाका मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ।

प्रहरी उपरिक्षक घिमिरेका अनुसार १७ वर्ष नेपाल प्रहरीमा काम गरेका बैठा त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा वि.सं. २०७१ सालमा लागुऔषध मुद्धामा ३० महिना जेल सजाय पाइसकेका व्यक्ति हुन् ।

मतपेटिका लुट्ने घटनामा संलग्न अन्यको पनि पहिचान गरि खोजी कार्य गरिरहेको र फरार रहेका उनीहरुलाई चाँडै पक्राउ गरिने प्रहरी उपरिक्षक घिमिरेको दावी छ । पक्राउ परेका बैठालाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारवाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

त्यतिबेला मतदान केन्द्रबाट मतपेटिका हवाइ फायर गरेर प्रहरीले मतपेटिका नियन्त्रणमा लिएको थियो । सुरक्षाकर्मीको आँखै अगाडिबाट मतपेटिका लुटिदा पनि केही गर्न नसकेको भन्दै रौतहटको प्रहरी प्रशासनको चौतर्फी आलोचना भएको थियो । मतपेटिका लुटिएपछि मतदात रद्ध गरेर जेठ ४ गते कडा सुरक्षा बीच मतदान सम्पन्न गरिएको थियो ।

  • May 20, 2022 प्रकाशित
  • सम्बन्धित