छोराछोरी सामाजिक सञ्जालमा रमाउँदै, आमाबाबु पुर्पुरो समाउँदै
  • नवीन राई

काठमाडौँ । हरेक वर्ष आमाबाबुको मुख हेर्ने दिन समाजिक सञ्जाल आमाबाबुको तस्बिरले भरिन्छ । आमाबुबाको महिमा गर्नमा कोही भन्दा कोही कम हुँदैनन् । सबै एकसे एक । युगकवि सिद्धिचरण श्रेष्ठलाई पनि पछि पार्छन् ।

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । देशभर भन्दा पनि सामाजिक सञ्जालभरि मनाइँदै छ ।

बिहानैदेखि प्रयाः सबैले आ-आफ्नो आमाको फोटो सामाजिक सञ्जालमा राखेर शुभकामना दिइरहेका छन् । सामाजिक सञ्जाल हेर्दा लाग्छ आफ्ना छोराछोरीदेखि सबै आमाबुबा खुसी छन् । आफ्ना सन्तानबाट जति साथ, सहयोग र माया पाउनु पर्ने हो पाइरहेका छन् ।

तर, गाँउघरमा अचेल आमाबाबु भने एक्लिँदै गएका छन् । खास गरी बुढ्यौली लागेपछि बाबुआमा एक्लोपन, बेवास्ता, हिंसा र दुव्र्यवहारको सिकार हुनु परेको विभिन्न अध्ययनले देखाएको छ ।

भोजपुरकी साल्पासिलिछो-१ की मायादेवी राई ७० वर्षकी भइन् । उनको पाँच छोरा र तीन छोरी । तर उनी गाउँमा एक्लै बस्छिन् । छोरा बुहारी, नाति नातिनी सबै काठमाडौँ बस्छन् । दशैँमा दुई चार दिनका लागि घर जान्छन् ।

वर्षभरि एक्लै बस्ने उनका लागि कहिलेकाहीँ बिसन्चो हुँदा पानी खुवाउने साथी पनि कोही हुँदैन । ‘छोरा बुहारी कामबाट फुर्सद पाउँदैनन्, नाति नातिनी पढाइबाट’ उनी भन्छिन् ।

उनी थप्छिन् ‘एक्लै पकाउने खाने गर्दै काल कुर्दै छु । काम गर्न नसकेपछि कति कोदो मकै फल्ने बारीहरू बाँझै छन् ।’ यसरी छोराछोरी गाउँ छाडी सहर र विदेश जाँदा गाउँमा अचेल ज्येष्ठ नागरिक मात्र बाँकी रहेको उनले दुःखेसो पोखिन् ।

सहर र विदेश पसेकाका पत्नीहरू पनि बालबच्चालाई राम्रो शिक्षा दिने नाममा सहर झर्छन् । त्यसपछि गाउँमै एक्लिने गरेका छन् ज्येष्ठ नागरिक । सहरमा भने अधिकांश मध्यमवर्ग घरबाहिर जागिर र व्यवसाय गर्छन् ।

मायादेवी त एक प्रतिनिधि मात्रै मात्रै हुन् । गाउँघरमा सबैका बुवाआमा एक्लिँदै गएका छन् । जाँगिर र पढाइले गर्दा युवा खासै गाँउ बस्दैनन् ।

ज्येष्ठ नागरिकहरू एक्लिँदै जानुलाई सामाजिक रूपान्तरणको प्रभावको रूपमा व्याख्या गर्छिन्, समाजशास्त्री सुनिता राई । श्रमशक्तिको विश्वव्यापी प्रवाहका कारण युवकहरू सहर र विदेश जान्छन् ।

सहर र विदेश पसेकाका पत्नीहरू पनि बालबच्चालाई राम्रो शिक्षा दिने नाममा सहर झर्छन् । त्यसपछि गाउँमै एक्लिने गरेका छन् ज्येष्ठ नागरिक । सहरमा भने अधिकांश मध्यमवर्ग घरबाहिर जागिर र व्यवसाय गर्छन् ।

घरमा हुँदा पनि टीभी, मोबाइल, सामाजिक सञ्जालमा झुन्डिरहने कारण ज्येष्ठ नागरिक मात्र हैन सबै नै एक्लिने प्रवृत्ति बढिरहेको समाजशास्त्री राई बताउँछन् । आफ्नो अनुसन्धानमा छोराछोरी शिक्षा र कामका लागि विदेशिने प्रवृत्तिका कारण पनि बाबुआमा एक्लिएका छन् ।

पछिल्लो समय व्यस्त जीवनशैलीको बहानामा आमाहरुलाई वृद्धाश्रममा राख्ने र उनीहरुको उपस्थितिलाई बोझ मान्ने गरेको कारण बुवाआमाहरुको दैनिकी कष्टकर बन्ने गरेको छ ।

र,  वर्षमा एकदिन मनाइने आमाको मुख हेर्ने दिनचाहिँ सामाजिक सञ्जाल रंग्याउछन् । आ-आफ्ना आमालाई मनपर्ने मिठाई तथा भोजन गराएको तस्बिर छरपस्ट हुन्छ । अरूलाई देखाउनै लागि भएपनि आमाको मुख हेर्ने दिन मनाउँछौँ ।

यता, छोराछोरी सामाजिक सञ्जालका भित्तामा तस्बिर सजाएर ‘हेप्पी मदर्स डे’भन्दै रमाएको हुन्छ, उता गाउँमा बुढी आमाको आँखा छोरा वा छोरीको बाटो हेरेर रसाउँछ ।

यसरी आमाप्रति सामाजिक सञ्जालमा राखिएका तस्बिर, ती गाउँमा भएका आमाले हेर्न पाए कति खुसी हुन्थी । आमाको तस्बिर सामाजिक सञ्जालमा राख्नुलाई अन्यथा मान्न खोजेको होइन, तर तिनै आमाको तस्बिर राखेर मातातिर्थ औँसी मनाउनेमध्ये कतिले आमालाई मनमा राखेका होलान् ? भने प्रश्न सधैं मनमान हुन्छ ।

आमाको मुख हेर्ने दिनको आफ्नै विशेषता र महत्व छ । यो दिवस फेसनजस्तो नबनोस् । देखावटी नबनोस् । खराब कुरालाई हाबी हुन नदिऔँ । एक असल सन्तान बन्ने कोशिस गरौँ, आमाबुवाप्रति निभाउनुपर्ने कर्तव्य पालना गरौँ । सबै आमाहरुलाई अवसरमा सम्मान तथा शुभकामना !

  • April 30, 2022 प्रकाशित
  • सम्बन्धित