गृह मन्त्रालयको निर्देशन– ‘कार्यविधिविपरीत राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्नू’
  • मूलधार

काठमाडौं । विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिविपरीत राखिएका सुरक्षाकर्मी, सहयोगी फिर्ता गर्न गृह मन्त्रालयले ४८ घण्टाको समय निर्धारण गरेको छ ।

मंगलबार मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञपिप्त जारी गर्दै कार्यविधि विपरीत बहालवाला तथा पूर्वकर्मचारी÷सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका नाममा राखेका सुरक्षाकर्मी तथा सहयोगीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएको हो ।

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृहले विज्ञप्ति जारी गर्दै कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउन निर्देशन दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘कार्यविधिमा तोकिए अनुसारका वहालवाला तथा पूर्वकर्मचारी सुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मी पाउने व्यवस्था रहेको छ । उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरीत सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरिसकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिन हुन सबैमा अनुरोध छ ।’

विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीहरुलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अंगरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको छ । तर, उक्त कार्यविधिविपरीत बहालवाला तथा पूर्वकर्मचारी, सुरक्षाकर्मीहरुले सहयोगीका नाममा सुविधा दुरुपयोग गर्ने गरेका छन् ।

 

  • December 27, 2022 प्रकाशित
  • सम्बन्धित