काठमाडौं । सरकारले सुनकोशी–३ जलविद्युत आयोजना (६८३ मेगावाट) को वातावरणीय मुल्याकंन (ईआईए) प्रतिवेदन स्विकृत गरेर आयोजना निर्माण प्रक्रिया अगाडि बढाएको विषयप्रति राष्ट्रिय सीमान्तिकरणविरुद्ध अभियान (समान नेपाल) ले गम्भीर ध्यानाकर्षण जनाएको छ।
बुधबार समान नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जलविद्युत आयोजना निर्माण कार्य विकासको नाममा विनास निम्त्याएर भूमिबासीको उठिबास गर्न लागिएको भन्दै सरकारको उक्त कदमविरुद्ध ध्यानाकर्षण जनाएको हो ।
जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको विद्युत विकासको लागि मिति २०७९/०८/२५ गते वन तथा वातावरण मन्त्रालयको च.न.४७६ को पत्रअनुसार प्रधानमन्त्री तथा वन तथा वातावरण मन्त्रीद्वारा २०७९/०८/२८ गते सुनकोशी–३ जलविद्यतु आयोजना (६८३ मे.वा.)को वातावरणीय मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत गरिएको र सोअनुसा आयोजना निर्माण कार्य अगाडि बढाइएको विषयप्रति हाम्रा गम्भीर ध्यानकर्षण भएको छ ।’
उक्त आयोजनाले त्यहाँका भूमिबासी तामाङ, माझी, डोने, दनुवारलगायतका मानव बस्तीहरु प्रत्यक्ष रुपमा प्रभावित हुने पनि विज्ञप्तिमा उल्लेख छ । यस आयोजनाले ३६०० घरधुरी विस्थापित हुनुका साथै सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाका पाँच–पाँच गाउँपालिका, रामेछाप जिल्लाको दुई गाँउपालिका र सिन्धुली जिल्लाको एक गाँउपालिका प्रत्यक्ष रुपमा प्रभावित हुने भनिएको छ ।
सरकारले अन्धधुन्धा रुपमा आयोजना अघि बढाएको र विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौताहरु उलङ्घन गरेको पनि विज्ञप्तिमा उल्लेख छ । स्वशासन तथा आत्मनिर्णयको अधिकार सुनिश्चित गर्न अनुमोदन गरिएका महासन्धि, अभिसन्धि, घोषणापत्रहरु जस्तैः आइएलओ १६९, युएनड्रिप, क्रेड, क्योटोलगायत जारी गरेको तथ्य पनि सर्वविदितै रहेको पनि विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ ।
अभियानको तर्फबाट समान–नेपालका संयोजक सी.एन. थारु, माझी राष्ट्रिय परिषद्का संयोजक जीवन माझी, डोने राष्ट्रिय परिषद्का संयोजक राजन डोने, बाग्मती प्रदेश माझी राष्ट्रिय मुक्तिका महासचिव हरिबहादुर माझी, मझेसवा सिन्धुपाल्चोकका संयोजक पूर्णबहादुर माझीले हस्ताक्षर गर्दै यदि सरकारले विरोधका बाबजुद आयोजना अघि बढाएमा त्यसको सशक्त प्रतिरोध गर्नेमा ऐक्यबद्धता जाहेर गरेका छन् ।
कार्यक्रममा डोने राष्ट्रिय परिषद्का संयोजक राजन डोनेले यदि राज्यले विकासको नाममा आदिवासीको थातथलो विस्थापित गर्ने कार्य भएमा प्रतिकार गर्न तयार हुने उनले बताए । उनले भने, ‘विकासको नाममा आदिवासीलाई फेरि पनि थातथलोबाट विस्थापित गरिन्छ भने त्यो स्वीकार छैन । त्यसको सशक्त विरोध गरिन्छ ।’
यदि आयोजना अघि बढाउनै नै हो भने उपयुक्त वातावरण निर्माणसँग स्थानीयलाई क्षतिपूर्ति पनि दिइनुपर्ने उनको भनाइ छ । उनका अनुसार तर सरकार आफूअनुकूलमात्र अघि बढे प्रतिकारस्वरुप आन्दोलन थालिनेछ ।
यस्तै, मझेसवा सिन्धुपाल्चोकका संयोजक पूर्णबहादुर माझीले राज्यले गरेका निर्णयले स्थानीयवासिन्दालाई असर पारेको भन्दै विरोधमा उत्रिनुपरेको बताए । उक्त आयोजना निर्माणले माझीका पेशा, व्यवसाय, भाषा, संस्कृतिमा प्रत्यक्षमा रुपमा असर पुर्याएको भन्दै सरकारको उक्त निर्णय गलत रहेको पनि उनले बताए ।
सामाजिक अभियन्ता एवं माओवादीको दश वर्षे जनयुद्धमा समेत होमिएका नवीन पुन मगरले सरकारको प्रकृति र मानव मैत्री प्रक्रिया अवलम्वन गरेर मात्र कदम चाल्नुपर्ने बताएका छन् । उनले भने, ‘यस्ता खालको विकास कामहरु गर्न लाग्दा प्रकृति र मानवमैत्रीलाई ख्याल नगरी गरिने विकासले अर्थ राख्छ ? विश्वभर अहिले ५२ प्रतिशत जमिन मरिसकेको छ र बाँकी बचेको ४८ प्रतिशत जमिन पनि विकासका नाममा विनाश हुँदैछ ।’
अहिले सुनकोशी क्षेत्रमा बनाउन लागिएको परियोजनाले मानव संस्कृतिलाई ध्वस्त पारेर बनाउने खोजिएको उनको भनाइ थियो । उनका अनुसार मानव समुदाय र संस्कृति ध्वस्त होइन बचाएर विकास गरिनुपर्छ । र, आफूहरुसँग त्यो मानव समुदाय र संस्कृति बचाएर गरिने विकासको विकल्प रहेको र सरकारले चाहेको खण्डमा त्यो सुत्र दिन तयार रहेको पनि उनले बताए ।
यस अभियानमा साथ दिँदै नेकपा माओवादी केन्द्रका क्रान्तिकारीका काभ्रे जिल्ला सदस्य होमबहादुर माझीले सरकारले त्यहाँका आदिवासीलाई जानी जानी हेपेरै जलाशय आयोजना बनाउने लागेको बताए । तर, सरकारकाले उक्त हेपाहा प्रवृत्तिविरुद्ध सचेत हुनुपर्ने आवाज उठाउँदै त्यसका लागि जे जस्तो त्याग र बलिदानी दिन पनि तयार रहेको उनले बताए ।
उनले भने, ‘राज्यले बेवास्ता गरे धेरै ठूलो संघर्ष गर्न तयार छौँ । तर, बिना सहमति यो आयोजना अघि नबढाएर बेवास्ता गरेर संघर्षमा होमिन तयार छौँ ।’
यसैगरी उक्त आन्दोलनमा ऐक्यबद्धता जनाउँदै माझी राष्ट्रिय परिषद्का संयोजक जीवन माझीले पनि आदिवासीहरुको ऐतिहासिक पेशासँगै संस्कृति पनि खोसिन लागेकोमा आपत्ति जनाए । उनले भने, ‘पेशा त खोसियो, खोसियो अब संस्कृति खोसिन दिन्नौँ । संस्कृति नै खोसिए हामीहरु रहनुको के अर्थ ।’