शपथ ग्रहणपछि मात्रै माओवादी सरकार गठनमा सहभागी हुने
  • मूलधार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण भएपछि मात्रै सरकार गठनलगायतका प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ ।

माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडमा आज बसेको पदाधिकारीको अनौपचारिक बैठकले निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउँदा सही हुने निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव जनार्दन शर्माले शपथ ग्रहण भएपछि मात्रै सरकार गठनको प्रक्रियामा जानुपर्छ भन्ने आफूहरुको मत रहेको बताए।

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र दिए पनि पद तथा गोपनीयताको शपथ भने भएको छैन । सङ्घीय संसद्को बैठक आह्वान नभईकन शपथ ग्रहण हुने अवस्था छैन । आयोगले निर्वाचन परिणाम राष्ट्रपतिलाई भने बुझाइसकेको छ ।

यस्तै, उपमहासचिव शर्माले गठबन्धन दलका बीचमा भएको छलफलका आधारमा प्रमुख पदहरुमा बाँडफाँटपछि हुने बताए।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार गठन लगायतका विषयमा गठबन्धनका दलहरुबीच भइरहेको छलफलका बारेमा जानकारी गराएका थिए। अध्यक्ष दाहालले राज्यका सबै प्रमुख पदहरुमा सहमतिका आधारमा बाँडफाँट हुनुपर्ने आफूहरुको धारणा रहेको बताएको बुझिएको छ ।

उपमहासचिव शर्माले पनि राष्ट्रपति लगायतका प्रमुख पदमा गठबन्धन दलका बीचमा छलफल गरेर नै एउटा निष्कर्षमा पुगिने जानकारी दिए। यसपटक माओवादीले आफ्नो नेतृत्वमा नै गठबन्धनको सरकार बनाउने दाबी गरेको उनले बताए। उनले भने, “हाम्रो दाबी हाम्रो पार्टीको नेतृत्वमा नै सरकार निर्माण हुनुपर्छ भन्ने हो । त्यसो भएपछि हाम्रो पार्टीका अध्यक्ष ‘प्रचण्ड’ नै त्यसको स्वाभाविक दाबेदार हुनुहुन्छ ।”

  • December 18, 2022 प्रकाशित
  • सम्बन्धित