हर्क साम्पाङले मागे माफी, भने- ‘चमारे’ शब्द नियतवश लेखेको होइन, यसका लागि क्षमाप्रार्थी छु’
  • मूलधार

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले दलित समुदायप्रति पर्न गएको मर्काप्रति आत्मालोचना गर्दै माफी मागेका छन् ।

आइतबार विज्ञप्ति नै निकालेर गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’ शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको भन्दै उनले आत्मालोचना गर्दै माफी मागेका हुन् ।

उनले लेखेका छन्, ‘२०७९-८-२८ मा मेरो फेस्बुक फेजमा मैले पोष्ट गरेको स्टेटसमा गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’ शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थ प्रति दु: व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दु: बनाएको रहेछ ! त्यस्का लागि यो शब्द फिर्ता लिंदै संधै समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति, विसंगति, वेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनका विरुद्ध लामो समय अभियान चलाएको मेरो ईतिहास रहेको संधैमा जानकारी गराउँदछु ! कसैलाई ठेस पुराउने नियतवश यो स्टेटस नरहेको जानकारी गराउँदछु !’

मेयर साम्पाङले ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्दै फेसबुकमा स्टाटस पोष्ट गरेका थिए । मेयरजस्तो जिम्मेवार मान्छेले जातिय छुवाछुतको कुरा गर्नु निच सोच र निन्दनीय रहेको चौतर्फी विरोध भएको थियो ।

पछि राष्ट्रिय दलित आयोगले मङ्गलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग राखेको थियो । साथै, आयोगले मेयरलाई काबारही गर्न गृहमन्त्रालयलाई पत्राचार गरेको थियो ।

आयोगले कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भन्दै नगरप्रमुख साम्पाङलाई उक्त अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न अनुरोधसमेत गरेको थियो ।

“जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानवअधिकारको भावना र मर्मविपरीत चमार समुदायप्रति अपमान गर्नुले समाजमा नकारात्मक असर पर्ने भएकाले आत्मालोचना गर्न अनुरोध गर्दछौँ”, आयोगद्वारा आज जारी गरेको विज्ञप्तिमा भनिएको थियो।

 

 

  • December 18, 2022 प्रकाशित
  • सम्बन्धित