हर्क साम्पाङसँग ‘झ्यास्–झुस्’ कुरा !
  • मनोज गजुरेल

धरानका मेयर हर्क साम्पाङको बारेमा जे सोच्दै थिएँ, भुमीराज राईजीले ठ्याक्कै त्यही लेखिसक्नु भएछ –“मेयरजस्तो गरिमामय पदमा धराने जनताले पुर्याएका छन् ! काम पनि राम्रै गरिरहनु भएको छ ! साथपनि पाईरहनु भएकै छ ! सबैलाई चित नबुझे पनि सबैको चित्त नदुखाउने गरि मात्र सामाजिक संजालमा लेख्दिनुस न मेयर ज्यू !

‘चमेरे’ लेख्नु भएको होला ‘चमारे’ भो ! चमार जातिहरुलाई चित्त दुख्नु स्वाभाविक हो नि ! “गल्ति टाइप भएछ, असर परेको जातिप्रति दुःख मन नगर्न अनुरोध गर्दै माफ चाहन्छु” भन्दा कुरै सकियो !

दुनियाँ काम गर्नुछ, व्यर्थै सामाजिक संजालमा काम नहुने हामीजस्तो कहाँ गलफत्ती गरिबस्नु’भा मेयर ज्यू ! तपाईंले शुरु गर्नु भएको राम्रो काम फैलाउ नेपाल भर..! अघि बढ्नुस् तर झिना मसिना कुरालाई मिलाएर लानुस्, यसरी हुन्न ! हामी तपाईंका शुभचिन्तकहरु तपाईं झमेलामा होइन, सबैको मनमा बसेको हेर्न चाहन्छौं ! जय धरान..!”

भुमीराजजीले यति लेखिसकेपछि यो विषयमा थप बोल्नै परेन । भन्न बाँकी रहेको थोरै कुरा लेख्दै छु ।

प्रिय हर्क साम्पाङज्यू,

तपाईंको ऊर्जा, आँट र ईमान्दारिताका लाखौँ प्रसंसक मध्ये मपनि एक हुँ । तपाईंलाई थाहै होला, हाम्रो उर्जा सबैभन्दा बढी दिमागले खान्छ । त्यसपछि आँखा, कान र मुखबाट खर्च हुने गर्दछ । वादविवादले दिमागको उर्जा कम पार्छ । अनावश्यक पोष्ट, कमेन्ट, आरोप, प्रत्यारोप हेर्दा, सुन्दा, बोल्दा झन् धेरै उर्जा स्खलित हुन्छ ।

तपाईंमा अन्तर्निहित शक्तिशाली ऊर्जा अझै राम्रा काममा लागोस् भन्ने चाहाना हाम्रो हो । तपाईं ‘झ्यास्–झुस्’मा अल्झिंदा हाम्रो आशा अपेक्षापनि ‘फास्फुस्’ हुन्छ । त्यसैले तपाईंसँग हामीले ‘खास्–खुस्’ गरेको हो ।

अहिले पो तपाईं मेयरमात्र हुनुहुन्छ। पछि मानानीय र मुख्यमंत्री पनि बन्नुहोला ! त्यतिमात्र होईन, सिक्किमका पुर्व मुख्यमंत्री पवन चाम्लिङ्झैं तपाईं नेपालको लोकप्रिय प्रधानमंत्री बन्नुपर्छ भन्ने सपना छ ! ‘झ्यास्–झुस्’ पन्छाउने जिम्मा समर्थक, सुभेक्षुकलाई छोडेर तपाईं ठूल्ठूला काममा बढ्नोस‘भन्ने अनुरोधमात्र हो, दबाब, प्रभाव वा सुझाव हैन ।

  • December 17, 2022 प्रकाशित
  • सम्बन्धित