‘पीडा बोकेको दलित शब्द खारेज गरौँ’ (भिडियो)
  • हर्क साम्पाङ

जहाँ पनि माफी माग्ने कुरा आउँछ । ‘चमारे’ भनेको कुनै थर होइन । ‘चमारे’ भन्ने शब्द कुनै शब्दकोषमा छ भने देखाइदिनुस् । म गाउँमा हुर्केको मान्छे हुँ । काइँला, ठाइँला, जन्तरे, गुइँठे यी कुराहरु त झर्रा शब्दहरु हुन् । यी शब्दहरु प्रयोग गरेर म स्टाटस लेखिरहेको हुन्छु । यहाँहरुले भन्नुहोला स्टाटस किन लेखेको ? म स्वतन्त्र हुँ, फेसबुकै हो मेरो पार्टी, कार्यकर्ता । मेरो कोही पनि पार्टी र कार्यकर्ता थिएन हिजोका दिनमा । म नगरप्रमुख हुँदा मेरो अधिकार खोसिनु हुँदैन । म जनताको गीत गाउँछु, कतिले भन्छन्– सन्देशमूलक गीत । कतिले भन्छन्– किन गीत गाइरहेको नगरप्रमुख भए ? मैले गीत गाउनै नहुने अधिकार हुँदैन नि । मैले बोल्नै पाउँदिन भन्ने त हुँदैन नि । मैले कुनै समुदाय, जातिलाई लक्षित गरेको छैन ।

बहुसांस्कृतिक पार्क खोल्नुपर्छ भनेर झगडा गर्ने मान्छेले कुनै जातिलाई होच्याउँला ? १० वर्षसम्म संघर्ष गरेर आए कहिल्यै मैले जातिय भेदभाव गर्ने कुनै अभिव्यक्ति दिए ? त्यो एउटा शब्द थियो, मेरो मनमा आयो मैले भने। तर, त्यसलाई तानतुन गरेर एउटा समुदायमा लगिरहनुभएको छ, त्यो कुरा खेदजनक छ । त्यसो नगरिदिनुहुन अनुरोध छ ।

तर, दलित आयोगको पनि यस विषयमा ध्यानाकर्षण भयो । तर, मेरो नियत खराब छैन । ‘गिभ रेस्पेक्ट, टेक रेस्पेक्ट’ म त हरेकलाई सम्मान गर्ने मान्छे । मैले नमस्ते गरे भने तपाईले पनि नमस्ते गर्नुहुन्छ नत्र ‘टिट फर ट्याट’ त हुन्छ । म एउटा कुरा के पनि गर्न चाहन्छु भने– दलित भन्ने शब्द नै खारेज गरौँ । दलित आफैँले पनि पीडा बोकेर बसेको छ, पीडाजन्य शब्द छ र किन यो शब्द उच्चारण गर्ने ? चाहे जुनसुकै शब्दहरु हुन् । २१ औँ शताब्दीमा राजनीतिक उथुलपुथल भएर देश संघीय लोकतान्त्रिक गणतन्त्रसँगै समाजवादतर्फ उन्मुख भनिरहहेका छौँ । संविधानमै यी सबै कुराहरु खारेज हुनुपर्छ भनिएको छ । अनि हिनताबोध शब्द राखेर किन बस्ने ?

मान्छे गाली गर्दा जो पनि दुःखी हुन्छ, प्रशंसा गर्दा खुसी हुन्छ । साधारण मान्छेले साधारण मान्छेको भावना बोकेको मान्छेले कसैलाई ठेस पुर्याउँला भन्ने छैन । मैले विगतका संघर्षका दिनका स्टाटसमा जातिय समानताका आवाज उठाएको छु । भानुचोकमा दलित समुदायहरुसँग आन्दोलन गरेको छु । आजचाहिँ त्यहिँ एउटा शब्दलाई पक्रिनु उपयुक्त होइन ।

ममा कुनै बडापन आयो, माथिल्लौ लेभलमा पुगे भन्ने छैन । म एकदम सरल व्यक्ति हुँ । तर, म फेसबुकचाहिँ धेरै चलाउँछु । किन चलाउँछु भन्दा मैले अघि पनि भने– १० वर्ष संघर्ष गरेर आउँदा मेरो कोही पनि साथी थिएन । मेरा हरेक अभिव्यक्तिहरु फेसबुकमार्फत जाहेर गर्दे आए । अर्काे कुरा यो पद त पाँच वर्षसम्म मात्र हो नि त ! त्यसपछि त म देश बनाउने अभियन्ता हो र मेरो अभियान सकिँदैन । त्यसैले मेरो सारथि भनेको फेसबुक हो । फेसबुक चलाउने विषयमा टिकाटिप्पणी गर्नुहुन्छ– के साह्रो फेसबुक चलाएको हो ?

तर, एउटा कुराचाहिँ जानकारी गराउन चाहन्छु– मेरो नाममा करिब २/३ सय वटा आइडीहरु खुलेका छन् । मेरै फोटो लगाएको छ, हर्क साम्पाङका हरेक क्रियाकलापहरु पोष्ट भएका छन् । र, जुनसुकै कुराहरु हर्क साम्पाङले लेखेका छन् भन्ने नबुझिदिनुहोला ।

– शुक्रबार बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा पत्रकारले चमारे शब्द प्रयोग गरेर लेखेको स्टाटसप्रति प्रश्न गर्दा मेयर साम्पाङले दिएको जवाफ

  • December 16, 2022 प्रकाशित
  • सम्बन्धित