काठमाडौं । ‘राम्रोभन्दा पनि हाम्रो’ च्याप्ने बानी नेपाली राजनीतिको रोग झन् झन् फैलिदै गएको छ । यसको पछिल्लो उदाहरण हो– कर्णाली प्रदेश । हालसालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मत परिणामपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रले कर्णालीमा समानुपातिकतर्फ प्रदेश सांसद छान्यो । तर, चयन भएका सबै समानुपातिक सांसद नेताका सबै आफन्त छन् ।
आफ्नै पार्टीका नेताले समानुपातिक सांसदमा आफ्नै श्रीमतीलाई सांसद बनाएपछि जनयुद्धमा घाइते भएका अपांग, शहीद परिवार रुष्ट बनेको छ । हुन पनि दश वर्षे जनयुद्ध कालमा आफ्ना श्रीमान्, श्रीमती गुमाएका परिवार रुष्ट हुनु स्वभाविक पनि हो ।
माओवादीले कर्णाली प्रदेश सभामा छानेका चार समानुपातिक सांसदमध्ये ती चारैजना नेताका श्रीमती र आफन्त हुन् । प्रदेश सांसद बनेकी उर्मिला विक माओवादी केन्द्रीय सदस्य रामलाल विककी श्रीमती हुन् । लक्ष्मी चौलागाईंकी श्रीमती यशोदा न्यौपाने पनि जुम्लाबाट प्रदेश सांसद बनेकी छन् । लक्ष्मी माओवादीको कालिकोट संयोजक हुन् ।
रुकुम पश्चिमबाट सांसद बनेकी मिलन खड्का रोका माओवादी संयोजक गोविन्द रोका (सचिन)की श्रीमती हुन् । यस्तै, प्रदेश सांसद बनेकी जुम्कित लामा कार्की हुम्लाको सर्केगाड गाउँपालिकाका माओवादी अध्यक्ष चन्द्रबहादुर कार्कीकी श्रीमती पनि हुन् । चन्द्रबहादुर गाउँपालिका उपाध्यक्षसमेत हुन् ।
प्रदेश सांसद छानिएका यी ४ सांसद सबै नेताका श्रीमती हुन् भने माओवादीले केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक छनोट गरेका दुई सांसद पनि नेताकै आफन्त रहेका छन् । प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी ज्ञानु बस्नेत सुवेदी (चितवन) उपमहासचिव शक्तिबहादुर बस्नेतकी बहिनी हुन् भने दाङबाट समानुपातिकतर्फबाट प्रतिनिधिसभा सांसद बनेकी नारायणी शर्मा (दाङ्ग)बाट माओवादी उपमहासचिव जनार्दन शर्माकी बहिनी हुन् ।