निशा डाँगी अर्थात् सबैभन्दा कान्छी सांसद
  • मूलधार

काठमाडौं । २०७९ को निर्वाचन साँच्चिकै नेपाली राजनीतिको इतिहासमा इतिहास बनिदियो । सायदै कसैले सोचेका थिए कि यति बिघ्न राजनीतिक उथुलपुथुल हुन्छ । तर, नसोचेकै भइदियो । नेपाली राजनीतिमा पुस्तान्तरणको कुरा चले पनि लागू नभएको अवस्थामा शीर्ष नेतृत्वकर्ता र पार्टी पंक्तिलाई गतिलो झापड पनि थियाे याे।

खाली ‘हजुरबुवा’ र ‘बुवा’ उमेरका नेताहरुले सांसद पद जित्दै आएकोमा यसपाली ‘नातिनी’ र ‘छोरा’ ‘छोरी’ उमेरका उम्मेदवारले निर्वाचन जितेर नयाँ रेकर्डमात्र कायम गरेनन् मतदाता पूराना नेतृत्वकर्तासँग कति क्रोधित रहेछन् भन्ने पनि प्रमाणित गर्यो । मुख्यतः योभन्दा पनि नयाँ नेतृत्वको आगमनले नयाँ काम गर्छ भन्ने नै छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सांसद बन्नका लागि २५ वर्ष अपरिहार्य छ । अहिलेसम्म यो उमेरका व्यक्तिहरु सांसद बनेको नेपाली राजनीतिको इतिहासमा रेकर्ड नै छैन भन्दा पनि हुन्छ । तर, यसपालीको निर्वाचनले यो नयाँ रेकर्ड कायम गरेको छ ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएर संसद भवन छिरेका सोबिता गौतम र डा. तोसिमा कार्कीले नयाँ पुस्ताको प्रतिनिधित्व गरेका छन् । र, धेरैलाई लागेको थियो उनीहरु नै होलान् कम उमेरमा सांसद बनेर संसद भवन छिरेका । तर, उनीहरुभन्दा पनि कम उमेरमा दुई नेत्री सांसद बनेका छन् ।

ती हुन्, तीनै सोबिता र तोसिमाले जित हासिल गरेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका । प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी सांसद बनेर रेकर्ड बनाएकी छिन् निशा डाँगीले । प्रत्यक्ष र समानुपातिक गरी २७५ सदस्यीय रहने प्रतिनिधिसभामा डाँगी समानुपातिकतर्फबाट सबैभन्दा कम उमेरमै सांसद बनेकी हुन् । झापाबाट सांसद बनेकी उनी २५ वर्षकी मात्रै छिन् ।

उनीपछि दोस्रोमा छिन् बिनिता कठायत । रास्वपाबाटै जुम्लाबाट समानुपातिका सांसद बनेकी उनी २६ वर्षकी भइन् । तेस्रोमा
प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट रास्वपाबाट काठमाडौं क्षेत्र नम्बर २ मा निर्वाचित भएकी सोबिता गौतम रहेकी छन् । उनी २७ वर्षकी छिन् ।

 

  • December 14, 2022 प्रकाशित
  • सम्बन्धित