काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाहीले नेपालमा आरक्षण कोटा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको बताएका छन् ।
न्यूज २४ काे ‘पावर न्यूज’ कार्यक्रममा’ ‘गगन थापाजस्ता युवा प्रधानमन्त्री चाहिन्छ भन्ने अभियान किन राप्रपाले नलिने ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा शाहीले घुमाउरो उत्तर दिँदै गगनभन्दा देउवा नै उमेरमा ठीक भएको बताउँदै नेपालमा आरक्षण कोटा देउवाले नै ल्याएको बताएका हुन् ।
‘देउवा पनि हिजो गगनजीको उमेरमा सामान्य मान्छे थिएनन् । उनी नेपालको इतिहासमा सबैभन्दा सफल गृहमन्त्रीभित्र पर्दछन्,’ उनले भनेका छन्, ‘युवा भनेको सिर्फ उमेरले मात्र गर्ने होइन नि ! उहाँ (गगन) ५० पुग्न लाग्नुभयो कसरी युवा हुनुहुन्छ ?’
नेपालको इतिहासमा सबैभन्दा सफल गृहमन्त्रीभित्र देउवा रहेको उल्लेख गर्दै नवनिर्वाचित सांसद शाहीले नेपालमा आरक्षण प्रणाली ल्याउने व्यक्ति पनि देउवा नै रहेको ठोकुवा गरे ।
उनले भने, ‘आज जसरी जातजातिको कुरा, कोटाको कुरा छ त्यो त देउवाले ल्याएको हो नि त ! जो अहिले ‘रिजरभेसन’ को कोटा छ त्यो त देउवाले ल्याएको हो नि त ! त्यो त सबैलाई थाहा छ नि !’
राजतन्त्र फर्काउने उद्धेश्यका साथ अघि बढेको राप्रपाका केन्द्रीय सदस्य एवं प्रवक्तासमे रहेका शाहीले अहिलेको गणतन्त्रभन्दा राजतन्त्र नै ठीक भएको बताए । उनले आज विकासका नाममा जति विकास भए ति सबै राजाकै पालमा भएको पनि बताए ।
सञ्चारकर्मीको प्रश्न, ज्ञानेन्द्र शाहीको उत्तर :
गगन थापा प्रधानमन्त्री हुने चर्चा छ । राजेन्द्र लिङ्देन ढोका बन्द गरेर बस्नुभएको छ । तपाई पनि मुखर देखिनुहुन्न । युवा प्रधानमन्त्री चाहिन्छ भन्ने अभियान किन राप्रपाले नलिने ?
युवा भनेको के हो ? यदि कुनै युवाले आफ्नो घरै जलाएर हिँड्छ भने के युवा भनेकै भरमा समर्थन गर्न मिल्छ ? गगन थापाजीले ल्याएको व्यवस्था होइन यो ? जुन व्यवस्थाले आज देश तहसनहस भएको छ ।
देउवाभन्दा ठीक होइन गगन ?
उमेरमा त गगन थापाभन्दा कति राष्ट्रिय हितमा थिए कति अराष्ट्रिय हितता थिए । बूढा प्रधानमन्त्री फेर्नपर्छ आफ्नो ठाउँमा छ तर त्यहाँ आउने प्रधानमन्त्री पनि राष्ट्रको हितमा हुनुपर्यो नि !
तुलनात्मक रुपमा गगनभन्दा देउवा नै ठीक ?
होइन, होइन । मैले गगनभन्दा देउवा ठीक भनेको होइन । तर, देउवा पनि हिजो गगनजीको उमेरमा सामान्य मान्छे थिएनन् । उनी नेपालको इतिहासमा सबैभन्दा सफल गृहमन्त्रीभित्र पर्दछन् । आज जसरी जातजातिको कुरा, कोटाको कुरा छ त्यो त देउवाले ल्याएको हो नि त ! जो अहिले ‘रिजरभेसन’ को कोटा छ त्यो त देउवाले ल्याएको हो नि त ! त्यो त सबैलाई थाहा छ नि ! देउवा गगनभन्दा भन्दा उत्तम थिए भन्ने केही पनि होइन । तर, एउटा कुरा के हो भने युवा भनेको सिर्फ उमेरले मात्र गर्ने होइन नि ! उहाँ (गगन) ५० पुग्न लाग्नुभयो कसरी युवा हुनुहुन्छ ?
अर्काे कुरा संसदभित्र गगनजीमात्रै छैनन् नि ! अरु नयाँ युवा साथीहरु पनि हुनुहुन्छ । उहाँलाई पनि चान्स दिनुपर्छ । झन् राष्ट्रको हितमा काम गरेका छन्, समाजको विकास गरेका छन्, एमसीसीजस्ता राष्ट्रघाती सम्झौतामा आँखा चिम्लेर थानकोटको डाँडा कटाउ भनेका छैनन् । त्यो मान्छेको आवश्यकता छ नि !