खोटाङ । रावाबेँसी गाउँपालिका–६ हौँचुर स्थित किराँत समुदायको ऐतिहासिकस्थल प्रिमाकोटगढी ओझेलमा परेको छ । किराँती राजा कुम्राहाङले शासन गरेको किराँत समुदायको ऐतिहासिक र साँस्कृतिक महत्व बोकेको प्रिमाकोटगढी प्रचारप्रसार र संरक्षण अभावमा ओझेलमा परेको हो ।
घोप्ट्याएको पाथी आकारको डाँडामा रहेको प्रिमाकोटगढी देउरालीडाँडाबाट जङ्गल र झाडी पार गर्दै पुगिन्छ । जङ्गलबीचमा दुईतिर बङ्करको अवशेष रहेको छ ।
अग्लो डाँडामा रहेको दुई बङ्करका बीचमा अवशेषको रुपमा रहेको दरबारको चरको ढुङ्गा यत्रतत्र छरिएर रहेका छन् । गढी आसपासमा रातो माटो झिक्नेक्रममा कहिलेकाहीँ खिया लागेका तीर भेटिने गरेको स्थानीय सुरेन्द्र राई बताउछन्।
प्रिमाकोटगढीमा हाल घुमफिर र अवलोकनका लागि स्थानीय बासिन्दा पुग्ने गरेका छन् । प्रिमाकोटगढीबाट रावाफाँट, हिमाली शृङ्खला, लामिडाँडा विमानस्थललगायतका ठाउँ अवलोकन गर्न सकिन्छ ।
स्थानीय अगुवाका अनुसार प्रिमाकोटगढी र डुम्रेकोटगढीका राजाबीचमा भएको युद्धमा चतुर प्रिमाकोटगढीका राजा कुम्राहाङले युद्धको अघिल्लो दिन छाला जुत्ता व्यापारी (सार्की)को भेषमा सुराकी पठाएका थिए । व्यापारीको रुपमा डुम्रेकोटगढी पुगेका सुराकीले त्यहाँका सेनाले लडाइँका लागीतयार गरेका बन्दुकमा राति पानी हालेर भागेको थिए । अर्कोदिन लडाइँमा डुम्रेकोटगढीतर्फका सेनाको एउटा पनि बन्दुक नपड्केको र धनुषवाणको भरमा लड्दा प्रिमाकोटगढीका सेनासँग पराजित भएको इतिहास रहेको छ ।
किराँतको बसोबास रहेको प्रिमाकोटगढी आसपासमा क्रमशः खसक्षेत्री समुदायको बस्ती बढ्दैगएपछि यो गढीलाई देउरालीडाँडा भनेर पनि चिनाइएको छ ।
किराँत समुदायले नै देउराली भन्न थालेपछि प्रिमाकोटगढीको ऐतिहासिकता झनै ओझेलमा पर्दै गएको स्थानीय तुलबहादुर राईले बताए। “प्रिमाकोटगढीलाई देउरालीडाँडा भनेर चिन्न थालियो”, उनले भने, “किराँत समुदाय आफैले पनि गढीको बारेमा बिस्तृत रुपमा बुझ्न चाहेनन् । यसको संरक्षण गर्न पहल गरेनन् । यही कारण पनि ऐतिहासिक गढी ओझेलमा पर्दै गएको हो ।”
ऐतिहासिक पहिचानसँग जोडिएको गढीको उत्थान र संरक्षणमा हालसम्म औपचारिक रुपमा कुनै योजना बनेको छै्रन । गढीको प्रवद्र्धन गर्दै गाउँपालिकाकै पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना छ । तर, यसतर्फ कसैको ध्यान पुगेको छैन ।
ओझेलमा परेको प्रिमाकोटगढी, भूमेथान र ऐतिहासिक सुरुङ कुलोलाई समेटेर पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना बनाइएको वडाध्यक्ष चिरञ्जिवी कार्की बताउछन् । “यो किराँत समुदायको ऐतिहासिक ठाउँ हो । यहाँ किराँत सँस्कृति झल्काउने संरचना बनाउने योजनामा छौँ”, उनले भने, “दूधकोसी जलाशययुक्त आयोजना बनेपछि जमेको ताल हेर्नसमेत यो ठाउँ उपयुक्त बन्नेछ ।”
हौँचुरमा रहेको प्रिमाकोटगढी, भूमेथान, जुडी महादेव मन्दिर र ऐतिहासिक सुरुङ कुलो लगायत पर्यटकीयस्थलको प्रवद्र्धन गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गर्ने तयारी गरिएको वडाध्यक्ष कार्कीले बताए। पर्यटकीयस्थलको डिपिआर गरेर प्रवद्र्धनको काम सुरु गरिने वडाध्यक्ष कार्कीको भनाइ छ ।