उषा राई मृत्यु प्रकरण : चार जना पक्राउ, अन्यको खोजी कार्य जारी
  • मूलधार

धरान। धरान उपमहानगरपालिका–१३ की ४२ वर्षीया एकल महिला उषा राईको हत्यामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरिएको छ । प्रहरीले राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा मंगलबार चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा धरान–१३ की ५५ वर्षीया उर्मिला राई, २६ वर्षीया सुमित्रा राई, धरान–१७ की २९ वर्षीय सुसेली राई र ४० वर्षीय रत्न लिम्बु सुब्बा रहेका छन् ।

प्रहरीका अनुसार उर्मिलाले स्थानीय जनजागृती आमा समूहका सदस्यलाई बोलाएर उषालाई कुटपिट गरेकी थिइन् । कुटपिटपछि गम्भिर घाइते भएकी उषाको उपचारका क्रममा मंसिर १३ गते निधन भएको छ ।

उषाको मृत्युपश्चात परिवारले हत्यामा संलग्न स्थानीय सिर्जना राई, निरकुमारी गुरुङ, मिना राईको नाममा पनि किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले उनीहरुलाई तत्काल पक्राउ गरेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको र फरार रहेकाहरुको पनि खोजीकार्य गरिरहेको जनाइउको छ ।

के हो घटना ?

मुख्य आरोपी उर्मिलाले कात्तिक ३ गते आफ्ना श्रीमान गोविन्द्र राईसँग उषाको उठबस भएको भन्दै उनकै घरमा आमा समुहका सदस्यहरुलाई बोलाएर निर्घात कुटपिट गरेकी थिइन् । जुन भिडियो सामाजिक सञ्जालमासमेत भाइरल बनेको थियो । कुटपिटपछि उषालाई आमा समूहले केही अखाद्य पदार्थ समेत खुवाएको आरोप छ ।

कुटपिटबाट गम्भीर घाइते भएकी उषालाई तत्काल उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । केही दिनको उपचार पछि डिस्चार्ज भएर घर फर्केरदुवै पक्षले इलाका प्रहरी कार्यालयमा मिलापत्रसमेत गरेका थिए ।

तर, मिलापत्र भएको केही दिन पछि उषाको स्वास्थ्यमा पुनः समस्या देखियो । र, उनलाई पुनः अस्पताल भर्ना गरियो । अस्पतालको आईसियुमा भर्ना भएर उपचारको क्रममा मंसिर १३ गते उषाको मृत्यु भएको थियो । कुटपिटपछि उषाको मृत्यु भएपछि मृतकका भाइ सुन्दर राईले किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा ४ जना पक्राउ परेका हुन् ।

  • December 6, 2022 प्रकाशित
  • सम्बन्धित