काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ। समानुपातिकतर्फ दलले मात्रै राष्ट्रिय दल मात्र ३ प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाएका छन् । अन्य दलले दलको मान्यता पाएनन् ।
समानुपातिकतर्फ थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्ने पहिलो दलमा नेकपा एमाले, दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा नेकपा माओवादी, पाँचौँमा राष्ट्रिय स्वतन्त्र पार्टी, छैटौँमा जनता समाजवादी पार्टी नेपाल पार्टी र सातौँमा जनमत पार्टी रहेका छन् ।
१ करोड ५ लाख ६० हजार ६७ सदर मत गणना हुँदा समानुपातिकतर्फ एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाएको छ । जुन एमालेभन्दा एक लाख ३० हजार ४१६ ले कम मत हो ।
समानुपातिकतर्फको मतमा तेस्रो नम्बरमा रहेको माओवादीले ११ लाख ७५ हजार ६८४ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ । पाँचौँमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत र छैटौँमा रहेको जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ मत प्राप्त गरेको छ । यस्तै, सातौँमा रहेको सीके राउतको पार्टी जनमत पार्टीले ३ लाख ९४ हजार ५६६ मत पाएको छ ।
एमालेबाट छुट्टिएर नयाँ दल दर्ता गरेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प््रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जितेपनि समानुपातिकतर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाउन असफल रह्यो । थ्रेस होल्डमा अड्किएपछि एकीकृत समाजवादीसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी राष्ट्रिय पार्टी बन्न असफल भए ।
तर, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ लोसपाले ४, नाउपाले ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक एक सिट जिते । यस्तै, स्वतन्त्रतर्फ ५ जनाले प्रत्यक्ष निर्वाचन जितेका छन् ।