मुख्यमन्त्री मलाई काम छैन, मन्त्री पद अध्यक्षको हातमा छ : दीपक मनाङे
  • मूलधार

काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा मनाङ प्रदेश सभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेश सांसदमा निर्वाचित भएका राजीव गुरूङ (दीपक मनाङे) ले मुख्यमन्त्रीको जिम्मेवारी दिए बस्ने क्षमता आफूसँग नभएको बताएका छन् ।

सोमबार नेकपा एकीकृत समाजवादी प्रवेशका लागि आयोजित पत्रकार सम्मेलनमा मनाङेले मुख्यमन्त्री दिइएपनि आफूसँग क्षमता नभएको र त्यसका लागि अनुभव चाहिने बताए ।

उनले भने, ‘अब हेर्नुस्, मुख्यमन्त्री दियो भने पनि मलाई काम छैन। त्यसको लागि अनुभव चाहिन्छ। त्यसको अनुभव मसँग छैन पनि।’

पत्रकारले गण्डकीको मुख्यमन्त्री बन्न पार्टी प्रवेश गर्ने हो भन्दै प्रश्न गर्दा उनले यस्तो बताएका थिए । यसका साथै अबको मन्त्रिपरिषदमा मन्त्री बन्ने कि नबन्ने प्रश्नमा उनले पार्टी अध्यक्षको हात हुने बताए ।

हाल गण्डकी प्रदेश सभाका युवा तथा खेलकुद मन्त्रीसमेत रहेका उनी मन्त्री पदकै लागि पाटी्र प्रवेश गरेको बताइन्छ । यद्यपि, मुख्यमन्त्रीको दाबेदारीमा उनले आफूसँग त्यो क्षमता नभएको तर, मन्त्री पदमा भने पार्टी अध्यक्षको हातमा रहेको उनको भनाइ थियो ।

उनको भनाइको मतलब सजिलै बुझिन्थ्यो उनी मुख्यमन्त्री होइन मन्त्री पदकै लागि पार्टीमा भित्रिएका हुन् । फरक फरक पार्टीमा रहँदै स्वतन्त्र बनेका गुरुङ निर्वाचनमा बिनाप्रतिस्पर्धा प्रदेश सांसद बनेका थिए । र, सांसद बनेपछि उनी माधवकुमार नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

  • December 6, 2022 प्रकाशित
  • सम्बन्धित