रेशम फकाउन जेल धाउँदै सत्ता गठबन्धन, मुद्धा फिर्ता नभए नाउपाका सांसदहरू शपथै नलिने
  • मूलधार

काठमाडौं । सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का जननिर्वाचित सांसदहरुले चट्टानी अडान बनाएका छन् ।

रेशम चौधरीलगायतमाथि लगाइएका मुद्दा फिर्ता नभएसम्म प्रदेश र प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूले शपथ नलिने अडानसँगै चेतावनी दिएका छन् ।

उनीहरुले सरकारले रेशमलगायतमाथि लगाइएका झूठा मुद्धा कुनै पनि हालतमा फिर्ता गर्नुपर्ने माग राखेका छन् । यदि सरकारले रेशममाथि मुद्धा फिर्ता नलिए सरकार गठनमा असहयोगसँगै शपथ नै नलिने नाउपाका नवनिर्वाचित सांसदहरु अडान अडिग बनेका छन् ।

कुनै एक दलले बहुमतको सरकार गठन गर्न नसक्ने र अन्य पार्टीहरुको साथ चाहिएपछि अहिलेको सत्ता गठबन्धनले सरकार गठनका लागि रेशमलाई भेट्न जेलमै धाइरहेका छन् । तर, नाउपाले भने रेशमलगायतमाथि लगाइएका मुद्दा फिर्ता नभए सरकार गठनमा सहभागी त के सांसदको शपथ नै नलिने अडान लिएका छन् ।

मंसिर ४ गते सम्पन्न नाउपाबाट कैलाली १ बाट रन्जिता श्रेष्ठ (रेशमकी श्रीमती), बर्दिया २ बाट स्वतन्त्र उम्मेदवार लालवीर चौधरी (रेशमका बुवा), कैलाली २ बाट अरुणकुमार चौधरी र कैलाली ३ बाट गंगाराम चौधरी प्रतिनिधिसभामा निर्वाचित छन् । यस्तै, प्रदेशसभातर्फ कैलालीबाट ५ जना र बर्दियामा २ गरेर कूल ७ जनाले निर्वाचनमा जित हासिल गरेका छन् ।

कैलाली र कञ्चनपुरलाई थरुहट प्रदेश बनाउनुपर्ने माग चर्किरहेको अवस्थामा २०७२ सालमा टीकापुरमा अप्रिय घटना घटेको थियो । उक्त घटनामा ८ प्रहरी र एक नाबालकसहित ९ जनाले ज्यान गुमाउन पुगेका थिए । सोही घटनाका आरोपित रेशम अहिले जेलमा छन् ।

  • December 1, 2022 प्रकाशित
  • सम्बन्धित