काठमाडौं । भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सुदन किराती केही दिनअघि विजयीसभा गर्ने पैसाले भोजपुर षडानन्द नगरपालिका–१०, साम्पाङ छाप्ले गाउँका बेसहारा दुई दाजुभाई सुजित राई र सुदिप राईका लागि राहत सामग्री लिएर उनीहरुकै आँगनमा पुगे । आमाबुवाबिनाका ती बेसहारा नाबालकका लागि सहारा बनेर पुगेका किराती आएको थाहा पाएपछि गाउँले सबैले घेरे ।
नवनिर्वाचित सांसद किराती सुजित र सुदिपको घरमा जस्तापाता, चामल, तेल र कापी कलम बोकेर पुगेका थिए । वर्षामा झरीले, हिउँदमा चिसोले बस्नै नसकिने घरमा जस्तापाता लिएर किरातीले उनीहरुको घाउमा मल्हम लगाइदिए । उनको त्यो कामको प्रशंसा गर्दै गाउँलेले असली सांसद जिताएकोमा खुसी साटे ।
सुदन आफैँमा गरिबीको व्यथा बोक्ने र आवाज उठाउने व्यक्ति हुन् । उनलाई चर्चा र चर्चित हुनुसँग कुनै मतलब छैन । उनी त गरिब, दुःखीका सारथी बन्न चाहन्छन् सदा । उनी अरुले के गर्छन् होइन के गर्दा हुन्छ भन्ने सोच्ने व्यक्ति हुन् । कोरोना महामारी होस् या अन्य बेला, सुदन सधैँ गरिबको न्यायका लागि लडिरहन्छन् । कुनैबेलाका माओवादी उनी भन्छन्, ‘दश वर्ष युद्ध गरियो, खै त क्रान्तिको उपलब्धि ?’
आइतबार दुई दाजुभाईलाई राहत सामग्री उपलब्ध गराएसँगै आगामी दिनमा उनीहरुका लागि पढ्ने प्रबन्ध पनि मिलाउने किरातीले उद्घोष गरेका थिए । नभन्दै किरातीको सराहनीय काममा साथ दिने दाता आए ।
भोजभतेर गर्ने पैसाले जस्तापाता र कलम कापी बोकेर सुदन किराती सुजित र सुदिपको घर पुग्दा…
किरातीको उपस्थितीमा खोटाङ्ग निवासी (हाल बेलायत भूपु गोर्खा सैनिक न्यायपूर्ण संघर्षरत ‘सत्याग्रह’ को संयोजक) समाजसेवी ज्ञानराज राईले दुवै दाजुभाईका लागि पढ्ने जिम्मा लिएका छन् । अब, सुजित र सुदिपको अध्ययन कृषि विज्ञ मदन राईद्वारा संचालित ‘शुभम फाउन्डेसन’मा हुनेछ ।
समाजसेवी राईले दुवैको पढने सम्पूर्ण व्यवस्था मिलाएपछि उनको त्यो अतुलनीय योगदानको कदर गर्दै किरातीले आफू र सम्पूर्ण भोजपुरवासीको तर्फबाट अभिनन्दन गरेका छन् ।
को हुन्, सुजित र सुदिप ?
सानो छँदा आमाले छाडेर गइन्, बुवा क्यान्सरले थला परे । क्यान्सरले थला परेका बुवाले गत चैतमा संसार छाडेर गए । तीन दिदीमध्ये दुई दिदीको बिहे भयो । कान्छी दिदी काठमाडौंमा श्रम गर्छन्, ज्यान पाल्नकै लागि । दिदीहरु कोही घरमा नभएपछि १५ वर्षीय सुजित र १३ वर्षीय सुदिप बेसहरा बने ।
त्यसपछि दुवै दाजुभाई एक हल गोरु लिएर अर्काको खेतबारी जोतेर जीवन गुजारा चलाउँदै आएका थिए । पालैपालो गरेर कलिलो उमेरमा अर्काको घरमा हल गोरु लिएर हली बनेका उनीहरुको कथा चलचित्रभन्दा पनि दर्दनाक छ ।