काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोजेपछि तनाव सिर्जना भएको छ ।
काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर सुकुम्बासी बस्ती हटाउन खोजेपछि नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शन उत्रिएपछि तनावग्रस्त बनेको हो ।
हातमा घरेलु हतियार खुकुरी, हंसिया, लाठी, घुइँत्रोलगायत बोकेर उत्रिएका स्थानीय प्रदर्शनकारीले आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै गृहमन्त्री तथा काठमाडौंका मेयर बालेन साह (बालेन्द्र) विरुद्ध चर्को नारावबाजीसमेत गरेका छन् ।
आफूहरुलाई हटाउन वैकल्पिक व्यवस्थाविनै ठाउँ छाड्न भनिएपछि स्थानीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका छन् । सुकुम्वासीहरूको ढुंगामुढाबाट महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ ।
स्थानीयले अहिले कुनै पनि हालतमा बस्तीमा डोजर लाउन नदिने भन्दै हातमा लाठी, ढुङ्गा घरेलु हतियारसहित तयारी अवस्थामा छन् ।