ओखलढुंगामा झन्डै ११ हजार मत बदर, औँठा छापदेखि उम्मेदवार नभएको मतपत्रमा छाप
  • राज दयाल

ओखलढुंगा । गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा झन्डै ११ हजार मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयअनुसार प्रदेश तथा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ गरी करिब ११ हजार मत बदर भएको पाइएको हो । कार्यालयको अन्तिम मत परिणाम अनुसार कूल १० हजार ८ सय ७४ मत बदर भएको छ ।

१ लाख १७ हजार ८ सय ९७ कुल मतदाता रहेको ओखलढुंगामा कुल ६४ हजार ९ सय १४ मत खसेको थियो । त्यसमध्ये प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ ६४ हजार ८ सय ९६ मत खसेकोमा २ हजार ३ सय ११ मत बदर भएको छ । त्यस्तै प्रतिनिधि सभाकै समानुपातिक तर्फ ३ हजार ९१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यता प्रदेश सभाको क्षेत्र नं. (१) मा प्रत्यक्ष तर्फ कुल ३१ हजार ६ सय ९० मत खसेकोमा ९ सय ६४ र प्रदेश सभाको क्षेत्र नं.(२) मा प्रत्यक्ष तर्पm ३३ हजार २ सय ३९ मत खसेकोमा ९ सय ९५ मत बदर भएको थियो । त्यस्तै प्रदेश सभाको समानुपातिक तर्फ ६४ हजार ९ सय १४ मत खसेकोमा ३ हजार ५ सय १३ मत बदर भएको छ ।

बदर भएका मतहरुमा धेरैजसो एउटै मतपत्रको धेरै चिन्हमा छाप लगाइएको पाइएको मुख्य निर्वाचन अधिकारी टिकाराम आचार्यले जानकारी दिए । त्यस्तै केहि मतपत्रमा औँठा छाप लगाइएको, केहि बन्दसूची पेश नगरेको (उम्मेदवार नभएको) मतपत्रमा छाप लगाइएको पाइएको उनले जानकारी दिए ।

  • November 28, 2022 प्रकाशित
  • सम्बन्धित