भोजभतेर गर्ने पैसाले जस्तापाता र कलम कापी बोकेर सुदन किराती सुजित र सुदिपको घर पुग्दा…
  • मूलधार

काठमाडौं । सानो छँदा आमाले छाडेर गइन्, बुवा क्यान्सरले थला परे । क्यान्सरले थला परेका बुवाले गत चैतमा संसार छाडेर गए । तीन दिदीमध्ये दुई दिदीको बिहे भयो । कान्छी दिदी काठमाडौंमा श्रम गर्छन्, ज्यान पाल्नकै लागि । दिदीहरु कोही घरमा नभएपछि १५ वर्षीय सुजित र १३ वर्षीय सुदिप बेसहरा बने । तैपनि जसोतसो घर धान्नैपर्ने ! उनीहरुको रेखदेख कस्ले गर्ने ? चुहिन, भत्किन लागेको फुसको छानो भएको घरमा कठ्याङ्ग्रिदो समयमा रात कसरी कटाउने ?

चलचित्रको सिनजस्तै लाग्ने यो दर्दनाक कथा भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर–१० साम्पाङ छाप्ले गाउँको हो । आइतबार यहिँ घरमा जस्तापाता, चामल, कापी, कलम र तेल बोकेर नवनिर्वाचित सांसद सुदन किराती पुगे । राहत सामग्री लिएर त्यहाँ पुगेका नवनिर्वाचित सांसद किरातीलाई स्थानीयले घेरे ।

बेसहराको सहरा बनेर पुगेका किराती त्यहाँ पुग्दा स्थानीयहरु निकै खुसी थिए । त्यसो त राहत सामग्री पाएपछि सुजित र सुदिप पनि खुसी भए । ‘सांसद, मन्त्री कति होलान् देशमा सबैले गरिबहरुलाई यसरी नै हेरिदिए कस्तो हुन्थ्यो,’ त्यहाँका एक स्थानीयले सुदनको कामको प्रशंसा गरे ।

सुदनले सुजित र सुदिपको दर्दनाक कथा पार्टीका कार्यकर्ता र स्थानीयबाट थाहा पाएका थिए । त्यसपछि निर्वाचित भएपछि भोजभतेरमा लगाइँदै आउने गरेको पूरानो प्रचलनलाई तोड्दै त्यो खर्च लिएर सुजित र सुदिपको घरको आँगनमा राहत सामग्री लिएर पुगे, किराती ।

सुजित र सुदिपको कथा मन रुवाउने छ । अर्काको अँधिया कमाएर गुजारा चलाउँदै आएका यी दुई दाजुभाई पालैपालो अर्काको घरमा हली बनेर स्कुल जाँदै आएका थिए । एक हल गोरु पालेका उनीहरुले त्यहिँ हल गोरु लिएर अर्काको घरमा जोत्ने अनि कमाएको पैसाले जीवन धान्दै आएका छन् । झ्याउँपोखरीको मा.वि. मा सुजित ८ कक्षा र सुदिप ७ कक्षामा अध्ययनरत छन् ।

वर्षामा घरको छानो चुहिएर बस्नै सकिने अवस्था छैन । बिचरा यी दुई बालक के गर्न सक्थे ? तैपनि त्यहिँ चुहिएको घरमा जसोतसो गरेर घामपानीदेखि बच्दै आएका थिए ।

सुजित र सुदिपको भविष्यका लागि पहलकदमी थाल्ने किरातीले घोषणा गरेका छन् । सुदिप र सुजितसँग बात मार्दै काठमाडौं पढ्नका लागि लैजाने भन्दै दुई दाजुभाइ सल्लाह गर्न पनि किरातीले दुवैलाई अर्ती दिए ।

किरातीले माओवादीको आन्दोलनले पुँजीपति र धनी वर्गको मात्र उत्थान गरेको तर, खान, लगाउन नपाएकाहरुको उत्थान नभएको बताए । उनले अब ठूलठूला विकासका काम (सडक, बिजुलीलगाय) काम होइन गरिबहरुको जीवनस्तर उकास्नु पहिलो काम रहेको पनि बताए ।

साथै, केन्द्रमा रहेका ३३४ सांसद, नगरपालिका, वडाका सबै जननिर्वाचित प्रतिनिधिले विजयीको उत्सवमा लगाउने खर्च छाना नभएकाहरुका लागि लगाइदिएको भए हजारौँको छानो टालिने बताए । नवनिर्वाचित किरातीले सबै जनप्रतिनिधिले महिनामा एकपटकमात्र सामाजिक काम गरे त्यहाँबाट नयाँ संस्कृतिको सुरुवात हुने पनि बताए ।

 

  • November 27, 2022 प्रकाशित
  • सम्बन्धित