सप्तरी ‘अपडेट’ : उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतले पछि पार्दै सिके राउत अगाडि
  • मूलधार

सप्तरी । प्रतिनिधिसभाअन्तर्गत सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता बढाएका छन्। पछिल्लो मत परिणामअनुसार उनले आठ हजार ४२० मत प्राप्त गरेका छन्।

गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले तीन हजार ६३३ मत ल्याएका छन् । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुरले एक हजार ६३० मत प्राप्त गरेका छन्।

हालसम्म १४ हजार ७६७ मतगणना भएकोमा ७७७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरी जिल्लाको निर्वाचन क्षेत्र नं १ मा जसपा नेपालका नवलकिशोर साह एक हजार ६२० मतका साथ अगाडि छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका रामदेव साहले एक हजार ३८५ मतका साथ पछ्याइरहेका छन्। सुरुआती मतगणनामा अघि देखिनुभएका जनमत पार्टीका जयकान्त राउतले ७५५ मत प्राप्त गरेका छन्।

सप्तरीको क्षेत्र नं ३ मा कांग्रेसका दिनेशकुमार यादवले एक हजार ९२४ मत ल्याएर अगाडि छन्। उनका प्रतिस्पर्धी एमालेका ताराकान्त चौधरीले एक हजार दुई मत र जनमत पार्टीका अनिस अन्सारीले ४७७ मत प्राप्त गरेका छन्।

सप्तरीको क्षेत्र नं ४ मा पनि कांग्रेसका तेजुलाल चौधरीले ३९४ प्राप्त गरेर अग्रस्थानमा रहेका छन्। यहाँ जसपाका बालकिशोर यादवले २१५ र जनमत पार्टीका सुकदेवप्रसाद साहले २०० मत ल्याएका छन् ।

  • November 22, 2022 प्रकाशित
  • सम्बन्धित