जनकपुरधाम । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा मधेश प्रदेशमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको छ ।
नेपाल प्रहरी मधेश प्रदेश कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले आठवटै जिल्लामा औसत ६७ दशमलव ६९ प्रतिशत मतदान भएको जानकारी दिए।
उनका अनुसार धनुषामा ६५ दशमलव ७७, महोत्तरीमा ६२ दशमलव ६४ र सप्तरीमा ६२ प्रतिशत मत खसेको छ । त्यस्तै, सर्लाहीमा ६२ दशमलव १५, रौतहटमा ६७, बारामा ६६ दशमलव ८६, पर्सामा ६९ र सिरहामा ६६ दशमलव ७७ प्रतिशत मत खसेको छ ।
छिटपुट घटनाबाहेक मधेश प्रदेशमा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको पनि प्रवक्ता तिम्सिनाले बताए।मधेश प्रदेशका आठ जिल्लामा ३२ वटा प्रतिनिधिसभा र ६४ वटा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा १८ लाख २७ हजार ८ सय ५४ जना पुरुष, १५ लाख ५८ हजार सात सय चार र अन्य ७० जना गरी कूल ३३ लाख ८६ हजार छ सय २८ मतदाता रहेका छन् । यहाँ दुई हजार १ सय ५६ मतदानस्थल र चार हजार दुई सय ३५ मतदान केन्द्र रहेका थिए ।