काठमाडौं । आज (आइतबार) देखि कतारमा विश्वकप फुटबलको महाकुम्भ सुरु भएको छ । उद्घाटन खेलमा आयोजक राष्ट्र कतारले इक्वेडरसँग प्रतिस्पर्धा गर्यो । तर, खेलको पहिलो हाफमा १५ र ३१ औँ मिनेटमा दुई गोल खादै पराजित हुन पुग्यो ।
खेलको दोस्रो हाफमा कतारले इक्वेडरलाई कडा टक्कर दिन खोजे पनि सफल हुन सकेन । इक्वेडरले पनि दोस्रो हाफमा गोल गर्न सकेन र पहिलो हाफकै दुई गोलमा चित्त बुझायो ।
उद्घाटन खेलमा इक्वेडरले कतारलाई दह्रो चुनौती दियो । तर, आयोजक राष्ट्र कतार इक्वेडरसामू यति फितलो प्रस्तुती भयो कि पहिलो हाफमा त रंगशालाको मध्यबिन्दूबाट विपक्षी पोष्टतिर फुटबल लैजानै हम्मेहम्मे देखियो । खेल दोस्रो हाफमा केही सुधार गर्न खोजेपनि आयोजक राष्ट्र कतारले गोल गर्न सकेन ।
खेलको तेस्रो मिनेटमा नै इक्वेडरले गोल गरेको थियो । तर भिडियो एसिस्टेन्ट रेफ्री (भा) ले त्यो गोललाई अफसाइड भनेछि गोलले मान्यता पाएन । तर, खेलको १५औँ मिनेटमा इक्वेडरले पेनाल्टी पायो । पेनाल्टी सुटआउटमा टिमका कप्तान एनर भ्यालेन्सियाले गोल गरे भने खेलको ३१औँ मिनेटमा पनि उनैले दोस्रो गोल गर्न सफल भए ।