काठमाडौं । आज सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कलाकर्मीहरूले आफ्नो नजिकको मतदान केन्द्रमा मतदान गरेका छन् । मतदान गरिसकेपछि केही कलाकारले आउँदो निर्वाचनमा उम्मेदवारी दिने सङ्केत गरेका छन् ।
अभिनेता राजेश हमालले लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीलाई चुनाव लड्ने सङ्केत गरेका छन्। “यो चुनावले राजनीतिमा परिवर्तन ल्याउने बुझाइ मेरो छ । पाँच वर्षमा मलाई पनि उम्मेदवारका रूपमा देख्नुहुनेछ”, अभिनेता हमालले भने।
अभिनेत्री करिश्मा मानन्धरले महाराजगञ्जस्थित काठमाडौँ महानगरपालिका–३ को वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गरे। उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै कलाकारहरू सक्रिय राजनीतिमा आएको राम्रो रहेको बताए। “अहिले जतिले स्थान पाउनुभएको छ, त्यो आउँदो समयमा बढ्नेछ । अर्थात् कलाकार सक्रिय राजनीतिमा आउने क्रम बढ्नेछ”, अभिनेत्री केसीले भने।
चलचित्र विकास बोर्डको अध्यक्षसमेत रहेका अभिनेता भुवन केसीले काठमाडौँ क्षेत्र नं २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेपछि आफ्नो चाहना सक्रिय राजनीति रहेको जानकारी दिए। उनले पार्टीले दिएको मौकाको सदुपयोग गर्दै आउँदो पाँच वर्षपश्चात् प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यमा उम्मेवारी दिने निश्चय रहेको बताए।
कलाकार निर्मल शर्माले काठमाडौँ क्षेत्र नं ४ को सिफल मतदान केन्द्रमा, निर्माता तथा अभिनेता दीपकराज गिरीले काठमाडौँ क्षेत्र नं ९ को दहचोक खहरे केन्द्रमा, अभिनेत्री केकी अधिकारीले काठमाडौँ क्षेत्र नं ३ को अत्तरखेलस्थित लिटिल बर्ड स्कुल केन्द्रमा मतदान गरेका छन्। हास्यकलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ले सर्लाही–४ स्थित बरहथवा नगरपालिका–१५ मा रहेको मतदान केन्द्रबाट मतदान गरेपछि दलहरूले कलाकारलाई उचित स्थान दिनुपर्ने बताए।
“हामी प्रचारप्रसारमा मात्र नभई सक्रिय राजनीतिमार्फत कला, संस्कृति र फिल्मको क्षेत्रमा नीतिगतसहित विभिन्न काम गर्न सक्छौँ । हामीलाई उचित स्थान दलले दिनै पर्छ”, हास्यकलाकार रिजालले भने।
निर्वाचनमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भोट गर्न पाएनन्। उनीहरू कार्यक्रमका लागि संयुक्तराज्य अमेरिका रहेकाले यसपटक मतदानमा सहभागी नहुनु भएको हो । ‘नाइँ नभन्नु ल ६’ फिल्मको छायाङ्कनमा व्यस्त हुनुपरेकाले अभिनेत्री आँचल शर्मा यसपटक भोट हाल्नबाट वञ्चितभए ।