ओखलढुंगा । प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जिल्लामा आज (आइतबार) शान्तीपूर्ण तवरमा मतदान सम्पन्न भएसँगै ५६ प्रतिशत मत खसेको प्रक्षेपण गरिएको छ । १ लाख १७ हजार ८ सय ९७ कूल मतदाता रहेको ओखलढुंगामा प्रारम्भिक प्राप्त विवरणअनुसार ५६ प्रतिशत मत खसेको हो ।
जिल्लाका ८४ मतदान स्थल र १५३ वटा मतदान केन्द्रमा मतदान गरिएको थियो । प्रदेशसभा तर्फ २ र प्रतिनिधि सभा तर्फ १ वटा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा निर्वाचनका लागि १ हजार २ सयको हाराहारीमा कर्मचारी खटिएका थिए ।
त्यस्तै निर्वाचनलाई स्वच्छ, मर्यादित, भयरहित, निष्पक्ष र पारदर्शी बनाउन १ हजार ८ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए । जिल्लाका केहि स्थानमा सामान्य विवाद भएपनि समग्रमा शान्तीपूर्ण तवरमा मतदान सम्पन्न भएको उनले बताएका छन ।
हाल मतदान केन्द्रहरुबाट मतपेटिकाहरु ढुवानीको काम भैरहेको र सम्भवत आज राती नै सबै मतपेटिकाहरु सदरमुकाममा आईपुग्ने उनले बताएका छन । मतपेटिकाहरु जिल्ला आइनसकेपछि सम्भवत भोली (सोमबार) बिहान सर्वदलीय बैठक बसेर मतगणनाको काम थालिने उनको भनाई छ ।
जिल्लामा सदमरमुकामस्थित मुख्य निर्वाचन कार्यालयबाट मात्रै मतगणना गरिने तयारी गरिएको छ ।