काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ को नकआउट चरणअन्तर्गत शुक्रबार कोच राजेशपायल राईका नौँ प्रतिस्पर्धीहरुको प्रतिस्पर्धा भयो । पहिलो तीन प्रतिस्पर्धीबाट भुपेन्द्र रानापाल लाइभ चरणमा पुगे । आफ्ना दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनी लाइभ चरणमा पुग्न सफल भएका थिए ।
पहिलो प्रतिस्पर्धापछि दोस्रो प्रतिस्पर्धामा थिए– परेश राई, पदम राई र मोहन नेपाली । खुट्टामा चोट लागेका कारण सहज रुपमा स्वर निकालेर गाउन असफलजस्ता देखिएका पदम राईले जितेन राईको गीत ‘उडाइ आयो..’बोलको गीत गाएका थिए । तैपनि अन्य दुई प्रतिस्पर्धीको तुलनामा कमजोर प्रस्तुती दिएको महसुश हुन्थ्यो ।
परेश राईले स्वरसम्राट नारायणगोपालको ‘दुईटा फूल देउरालीमा…’ बोलको गीत गाएका थिए भने मोहनले शिव परियारको ‘कहाँ थियौँ तिमी..’ बोलको धमाकेदार प्रस्तुती दिएका थिए । मोहनसँगै भ्वाइस अफ नेपालको स्टेजमा परेशले पनि उस्तै मजबुत गीत गाएका थिए ।
तिनै प्रतिस्पर्धीको गायकिको तुलना गर्दा कोच प्रमिसाले परेशलाई रोजेका थिए भने कोच राजु र कोच प्रमोद मोहनतिर गएका थिए । दर्शक पनि परेश र मोहनतिरै समर्थन गरेको स्वर सुनिन्थ्यो । तर, पदमको शारिरीक अवस्थामा समस्या भएपनि राम्रो गाएको भन्दै प्रमोद र राजुले प्रशंसा गरेका थिए । पदम ब्याटल राउण्डबाट कोच प्रमोदको टिमबाट कोच राजेशले स्टिल गरेर आफ्नो टिममा भित्राएका थिए ।
यो पनि :
तीनै जनाको प्रस्तुती र जजहरुको जजिङपछि अब पालो थियो निर्णयको । कोचको निर्णयले तीनमध्ये एकजना जाँदै थिए, लाइभ राउण्डमा । कोच राजेशलाई निर्णय लिन गाह्रो परेपछि कोच प्रमोद पनि साथ दिन उनीसँगै बसे । र, कोच राजेशले तीनमध्ये कल्लाई छानौँ भन्ने तरखरमा आगामी प्रतिस्पर्धामा खुट्टाको घाउ निको हुने र धमाकेदार प्रस्तुती दिन सक्ने भन्दै पदमलाई छनोट गरे ।
तीन कोच र दर्शकले तीनमध्ये एरेश र मोहनलाई पक्कै छनोट गर्छ भन्दै हुटिङ दिएका थिए । तर, दर्शक र तीनको कोचको मतविपरीत राजेशले पदमलाई आगामी लाइभ चरणमा छनोट गरे । दुई प्रतिस्पर्धीभन्दा फितलो प्रस्तुती दिएका पदम लाइभ चरणमा प्रवेश गरेपछि दर्शकसँग तीन जना कोच पनि अचम्मित भएका थिए ।
तर, कोच राजेशले आगामी दिनमा राम्रो प्रस्तुती दिने भन्दै पदमलाई छनोट गरेका थिए । टिम राजेशबाट लाइभ राउण्डमा प्रवेश गरेका पदम ताप्लेजुङ आइडल पनि हुन् । उनका ‘के गुलियो छ र सख्खर चिनी,’ ‘एसो हेरे’ लगायत गीतहरु लोकप्रिय रहेका छन् ।