गृहमन्त्री खाणविरुद्ध बहुविवाहको उजुरी, कान्छी श्रीमती मन्जुसँगै खाणको उम्मेदवारी खारेजीको माग
  • मूलधार

रुपन्देही । गृहमन्त्री भएर बहुविवाह गर्नेलाई दण्ड चलाउने तर, त्यो अपराधमा आफैँ संलग्न हुने ! जेठी दिलमाया खाण हुँदा हुँदै कान्छी श्रीमती मञ्जु खाणलाई भित्राउने भन्दै गृहमन्त्री एवं रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण खाणविरुद्ध बहुविवाह नाममा निर्वाचन आयोग नेपालसमक्ष उम्मेदवारी खारेजको उजुरी दर्ता भएको छ ।

त्यसो त गृहमन्त्री खाणले आयोगमै उम्मेदवारी दर्ता गर्दा दुईटी श्रीमती भनेर उल्लेख गरेको पनि तारा बरालद्वारा दर्ता भएको उजुरीमा उल्लेख छ । साथै, बहुविवाह गर्ने उम्मेदवारलाई कारबाहीसँगै उम्मेदवार खारेज गर्न पनि माग गरिएको छ ।

बहुविवाह गर्ने गृहमन्त्री खाणमाथि कानुन नलाग्ने हो देशभर बहुविवाहमा जेल चलान गरिएकाहरुलाई तत्काल मुक्त गर्न पनि उजुरीमा भनिएको छ । यदि, ठूलालाई कानुन नलाग्ने र सानालाई मात्र लाग्ने हो बहुविवाहविरुद्धको कानुन नै हटाउन पनि भनिएको छ ।

गृहमन्त्री खाणसँगै कान्छी श्रीमती मन्जु खाण नेपाली कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचनमा महिलातर्फ समानुपातिक उम्मेदवार बनेका छन् । उजुरीमा उम्मेदवार खाण दम्पती दुवैको उम्मेदवार तत्काल खारेज गर्न भनिएको छ ।

मुलुकी ऐन २०२० ले दुईटी श्रीमती राख्दा ३ वर्ष कैद र २५ हजार तोकेको छ । तर, कानुनले गृहमन्त्री खाणलाई खुलामखुला छाडेको पनि आरोप उजुरीमा छ ।

  • November 17, 2022 प्रकाशित
  • सम्बन्धित