ओखलढुंगा । प्रदेश तथा प्रतिनिनिधि सभाको चिर्वाचन आउन अब केहि दिन मात्र बाँकी छ । देशभर चुनावी सरगर्मी बढिरहेको बेला ओखलढुंगामा पनि चुनावी माहोल निकै तातेको छ । यतिखेर विशेषगरी विभिन्न दल र उम्मेदवारहरु गाउँगाउँमै आफ्ना चुनावी एजेन्डा लिएर चुनावी सभा र घरदैलो अभियानको दौडाहामा व्यस्त छन् ।
केही दल भने गाँउघरमा आफ्नो घरदैलो अभियान सकेर सदरमुकाममा पनि अभियान सुरु गरेका छन् । यता मतदाताहरुसमेत विभिन्न जिल्लाबाट मतदानको लागि गृह जिल्ला भित्रिने क्रम जारी छ । त्यस्तै जिल्ला निर्वाचन कार्यालय र प्रसासनले समेत यतिखेर निर्वाचनको तयारीलाई तिब्र पारेका छन् ।
जिल्लामा यस पटकको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि विभिन्न दलका २० उम्मेदवारहरु चुनावी मैदानमा छन् । प्रदेश सभा निर्वाचन क्षेत्र संख्या २ र प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ मात्र रहेको ओखलढुंगामा प्रदेश क्षेत्र नं. १ का लागि ५ जना र २ का लागि ७ जनाको उम्मेदवारी परेको छ । यस्तै, प्रतिनिधि सभाका लागि विभिन्न दलका ८ जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभा निर्वाचनका अन्य दलका उम्मेदवारहरु मैदानमा उत्रिए पनि सत्ता साझेदार गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामहरी खतिवडा एमालेका यज्ञराज सुनुवारबीच कडा प्रतिस्पर्धा हुने छ । २ पटक सांसद बनिसकेका एमालेका यज्ञराज सुनुवार यसपटक पनि संसद छिर्ने दाउमा छन् भने खतिवडा अघिल्लो निर्वाचनका गिराएको साख जोगाउने ध्याउन्नमा छन् ।
२०७४ को निर्वाचनमा बाम गठबन्धनबाट एमालेका सुनुवारले खतिवडालाई ५ हजार भन्दा बढीको फराकिलो मन्तान्तरणले हराएका थिए । सुनुवारले ३२ हजार ५ सय ८० मत प्राप्त गर्दा खतिवडाले २७ हजार ३ सय २७ मत पाएका थिए । उता, प्रदेशसभा क्षेत्र नं. १ मा पनि यसअघि भौतिक पूर्वाधार मन्त्री समेत भइसकेका नेकपा एमालेका अम्बिरबाबु गुरुङ र गठबन्धनतर्फका साझा उम्मेदवार तथा लोकप्रिय नेता प्रदीप सुनुबार चुनावी भिडन्तमा छन् । त्यस्तै प्रदेश सभाकै क्षेत्र नं. २ मा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीका ज्ञानबहादुर खड्का (जिबी) र नेकपा एमालेका बाबुराम गौतमबीच प्रतिस्पर्धा हुनेछ ।
निर्वाचनको तयारी
निर्वाचनको मिति नजिकिएसँगै प्रशासनिक कामसमेत निकै तीब्र गतिमा अगाडी बढिरहेको छ । जिल्ला निर्वाचन कार्यालय, प्रसासन कार्यालय र अन्य सुरक्षा निकायसमेत अहिले निर्वाचन सफतापूर्वक सम्पन्न गराउने कार्यमा जुटिरहेका छन् ।
जिल्लाका विभिन्न मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई आवश्यक तालिम दिएर निर्वाचन प्रयोजनका सामग्रीसहित सम्बन्धित केन्द्रमा खटाउने काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
१ गतेभित्र कर्मचारीहरु तोकिएको मतदान केन्द्रमा पुगिसक्ने र ३ गतेभित्र मतदान स्थल निर्माण लगायतका सम्पूर्ण कार्य सम्पन्न गरिसक्ने जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार जिल्लाका सबै मतदान केन्द्र अपाङ्गमैत्री हुनेछन् ।
शारीरिक रुपमा असक्त, अपाङ्ग, जेष्ठ नागरीक, गर्भवती महिला, लगायतलाई विश्राम स्थल सहित लाईनमा बस्न नपर्ने गरी मतदानको ब्यवस्था मिलाइनेछ ।
सुरक्षा ब्यवस्थापनका लागि १ हजार ८ सय सुरक्षाकर्मी परिचालन
निर्वाचनका लागि जिल्लामा ८४ वटा मतदान स्थल र १५३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । ति स्थानमा सुरक्षाका लागि झन्डै १ हजार ८ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा १ हजार २ सयको संख्यामा नेपाल प्रहरी र म्यादी प्रहरी रहेका छन् । त्यस्तै ३ सय जना नेपाली सेना र २ सय जना शसस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख (डीएसपी) सुकदेव खनालले जानकारी दिए । उनका अनुसार जिल्लाका ८४ मतदान स्थलमध्ये १२ वटालाई अति संवेदनशिलको सूचिमा राखिएको छ ।
विशेषगरी भौगोलिक विकटता र यातायातको पहुँचका कारण ति स्थल अति संवेदनशिलको सूचिमा राखिएको उनले बताए । अति संवेदनशिलको सूचिमा परेका मतदान स्थलमा आवश्यकता हेरेर सुरक्षा ब्यवस्था थप मजबुद बनाईने खनालको भनाई छ ।
आचारसंहिता उल्लङघनका उजुरी
निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता उल्लङघन समेत बढेको पाइएको छ । विशेष गरी चुवाब प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लङघन भएको पाइएको हो । बुधबारसम्म जिल्लामा आचारसंहिता उल्लङघनका ८ वटा लिखित उजुरी दर्ता भएको जिल्ला निर्वाचन आचारसंहित उल्लङघन अनुगमन अधिकृत यज्ञराज उप्रेतीले जानकारी दिए । उनका अनुसार दर्ता भएका उजुरीमध्ये ६ वटा सामाजिक सञ्जालसँग जोडिएका छन ।
जसमा उम्मेदवारविरुद्ध अभिव्यक्ति दिएको, उम्मेदवारको चरित्र हत्या गरेको, सरकारी कर्मचारीले उम्मेदवारलाई भोट मागेकालगायत उजुरी रहेका छन । त्यस्तै, अन्य २ उजुरीतर्फ एउटा स्थानीय निकायसँग सम्बन्धित छ भने अर्को स्थानीय तहको पदाधिकारी चुनावी प्रचारप्रसारमा सहभागी भएको अनुगमन अधिकृत उप्रेतीले बताए ।
यस्तै, लिखित उजुरी परेका सबै जनालाई स्पष्टीकरण सोधिएकोमा २ जनाको मात्रै जवाफ आउन बाँकी छ । अन्य ६ जनाले जवाफ पेश गरिसकेकाले केहिदिन भित्रै कारबाही टुंगो लगाइने उप्रेतीले बताए ।
के भन्छन मतदाता ?
चुनावी सरगर्मी बढिरँहदा विभिन्न खाले टिकाटिप्पणीहरु पनि भैरहेका छन । विभिन्न सामाजिक सञ्जाल, होटेल तथा चिया पसल र विभिन्न दलका चुनावी सभाहरुमा मतदाताहरुको आआप्mनै अडान र अभिव्यक्ति छ । केही मतदाता आशावादी छन भने केही आक्रोशितसमेत छन । यसअघि चुनाव जितेपछि उम्मेदवारहरु आफ्नो गाउँमा फर्किएर नगएको र अघिल्लो निर्वाचनको बाचासमेत पुरा नगरेको केहीको प्रतिक्रिया छ ।
मतदाताहरुले आफ्नो सामाजिक सञ्जालमार्फत् पनि यस्ता अभिव्यक्तिहरु खुलेरै दिएका छन् । ठूला दलका उम्मेदवार धेरैजसो पुरानै अनुहारका भएकाले नयाँलाई मौका दिनुपर्ने कतिपयको भनाइ छ । त्यस्तै कतिपय मतदाताहरु भने यसअघि चुनाव जितेका उम्मेदवार नै पुन विजयी भए यसअघिको कार्यकालमा थालिएका विकासे योजना पूरा हुने विश्वास व्यक्त गर्दन् ।
कसले मार्ला बाजी ?
जिल्लामा विभिन्न दलबाट २० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएपनि ठूला दलका उम्मेदवार खतिवडा र सुनुवार नै चर्चामा छन् । त्यसो त यसअघि एकअर्कासँग प्रतिस्पर्धा गरिसकेका हुनाले पनि उनीहरुको चर्चा बढी हुनु स्वभाविक पनि हो ।
२०७४ को निर्वाचनलाई हेर्ने हो भने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दुवै वाम गठबन्धनको पोल्टामा परेको थियो । संघमा नेकपा एमालेका यज्ञराज सुनुवार, प्रदेश क्षेत्र ‘क’ मा एमालेकै अम्बीरबाबु गुरुङ र प्रदेश क्षेत्र ‘ख’ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मोहन खड्काले निर्वाचनबाट चुनिएका थिए ।
२०७४ मा कांग्रेस एक्लै चुनावी भिडन्तमा थियो । तर, अहिले ठीक विपरीत एमाले एक्लै कांग्रेस र माओवादी एक ठाउँमा छन् । २०७९ को स्थानीय तहको निर्वाचनमा पनि माओवादी र कांग्रेसले देशभर चुनावी तालमेल गरेको थियो । केन्द्रको निर्देशनबमोजिम कतै चुनावी तालमेल भए कतै भएनन् । तैपनि ओखलढुंगामा कांग्रेसले जिल्लाका ७५ मध्ये ४५ वडामा आफ्नो जित हासिल गरेको थियो । त्यस्तै जिल्लाका ८ पालिकामध्ये १ माओवादी सहित ५ स्थानीय तहको पालिका प्रमुख र ४ पालिका उपप्रमुख कांग्रेसले जितेको थियो ।
स्थानीय तहको हिसाबकिता जे जस्ता भए पनि एमाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन जित्नेमा ढुक्क भनिरहेको छ । तर, सत्ता गठबन्धन दलका बीच निर्वाचन जित्नु फलामको चिउरा चपाउनुसरह हुने निश्चित देखिन्छ । अब कस्ले मार्ला बाजी ? त्यो मंसिर ४ को निर्वाचनले फैसला गर्नेछ ।