भोजपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोजपुरबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुदन किरातीलाई पूरानै ऋण तिर्न बाँकी रहेको भन्दै निर्वाचित भएपछि चुक्ता गर्ने बाचा गरेका छन् ।
बुधबार भोजपुरको तिवारी भन्ज्याङमामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा चुनावमा सुदनलाई जिताएर पठाउन अपिल गर्दै पूरानै ऋण तिर्ने अध्यक्ष प्रचण्डले बताए ।
उनले भने, ‘मैले सुदनजीलाई पुरानै ऋण तिर्नु छ । पहिला पनि मन्त्री बनाउन खोजिएकै हो सकिएन । अब निर्वाचित भएपछि रोजेकै मन्त्रालय दिन्छु । तपाईहरु सुदनलाई जिताएर पठाउनुस् ।’
भोजपुरबाट सत्ता गठबन्धनका साझा उम्मेदवार किराती नेकपा माओवादीबाट प्रतिनिधिसभाका उम्मेदवार छन् । उनीसँग नेकपा एमालेका उम्मेदवार शेरधन राई मैदानमा छन् । किराती २०६४ र २०७४ सालका सांसदसमेत हुन् ।
बुधबार प्रचण्ड ताप्लेजुङबाट भोजपुर जानुअघि चुनावी सभामा बम विस्फोट भएको थियो । बम विस्फोटबाट एक जना गम्भीर घाइतेसमेत भएका थिए ।