काठमाडौं । सर्वोच्च अदालतले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न दर्शकसँग अतिरिक्त शुल्क लिन रोक लगाउने गरी यसअघि जारी अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ ।
न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश जारी गरेको हो ।
आदेशसँगै नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क पाँच सय रुपैयाँ लिएर विश्वकप फुटबल लाइभ देखाउन पाउने भएका छन् । साथै, सर्वोच्चको उक्त आदेशसँगै मिडिया हब प्रालिलाई विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणबापत दर्शकसँग अतिरिक्त पाँच सय शुल्क लिने बाटो खुला भएको छ ।
अधिवक्ता किशोर पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाएर विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणमा दर्शकसँग शुल्क नलिई प्रसारण गर्नुपर्ने भन्दै रिट निवेदन दायर गरेका थिए ।
तर, अब शुल्क लिएरै विश्वकप प्रत्यक्ष प्रसारण गर्ने कानुनी बाटो खुला भएको छ । कानुनी बाटो खुला भएसँगै मिडिया हब विश्वकप लाइभको प्रसारणको तयारीमा जुटेको छ ।