कमला कुमारी गुरुङ परिचित नाम हो । २०४३ सालदेखि नै राजनीतिमा सक्रिय कमला आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) बाट समानुपातिक उम्मेदवार हुन् । उनको चुनाव चिन्ह ‘साइकल’ रहेको छ ।
विद्यार्थी राजनीतिदेखि अहिलेसम्मको राजनीति हेर्दा देशमा व्यवस्था परिवर्तन भए पनि अवस्था उस्तै रहेको उनी बताउँछिन् । आदिवासी, महिला, सीमान्तकृत वर्ग र पिछडावर्ग जहाँको त्यहिँ रहेकाले यसको उत्थान गर्न आफ्नो उम्मेदवारी रहेको उनको प्रतिबद्धता छ ।
२०१६ सालमा पर्वतमा जन्मिएकी कमलाले वैवाहिक जीवनपश्चात् हङकङ, बेलायतलगायत विश्वका विभिन्न मुलुकमा रहेर काम गरिन् । ती देशमा बसेर काम गर्दा कहिल्यै विभेद महसुस गरिनन् तर, जब आफ्नो देश नेपाल फर्किइन् उनले विभेद, उत्पीडनको चरम समस्या देखिन् ।
त्यसपछि राजनीतिमा सक्रिय भएर राज्यस्तरबाटै महिलामाथिको विभेद, उत्पीडन, पिछडावर्गको समस्या र सीमान्तकृत समुदायको मुक्ति हुनुपर्ने आन्दोलन लिएर हिँडिन् । नेपाली कांग्रेसबाट राजनीति थालनी गरेकी कमला कुनै समय डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी, नेपालकी एक दरिलो खम्बा थिइन् । नयाँ शक्ति अन्य पूराना दलभन्दा नयाँ एजेन्डासहित राजनीतिको मूलधारमा आउन जन्मिएको थियो ।
तर, उनकै भाषामा भन्ने हो भने नाममात्र नयाँ तर, व्यवहार पूराना भएपछि उनले नयाँ शक्ति छाडिन् । यतिन्जेल मधेसी, खस, आर्य र आदिवासी जनजाति मिश्रित बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) पनि टुक्रिइसकेको थियो । र, उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मा प्रवेश गरिन् । र, अहिले यहिँ पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार छिन् ।
लोसपाको केन्दीय कार्यकारिणी सदस्यसमेत रहेकी कमला अब राजनीतिको नयाँधार अघि नढेसम्म देशमा विकास नहुने बताउँछिन् । उनी भन्छिन्, ‘त्यो हो इन्डिजिनियस मुभमेन्ट’ । त्यसो त कमलासँग निर्वाचनमा जित्ने आधार के के छन् ? मूलधारे प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार गुरुङसँग छोटो कुराकानी गरेको छ :
आगामी मंसिर ४ गतेको निर्वाचनमा आँगनमै आएको छ । जित्छु भन्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?
पूर्ण रुपमा जित हुन्छ भन्नेमा ढुक्क छु ।
जितका आधारचाहिँ के के हुन् ?
थोरै मान्छेले धेरैलाई शोषित गरिरहेको अवस्था छ । र, म त्यहिँ धेरै मान्छेभित्रको एक प्रतिनिधि हो र जित त पक्कै छ । अर्कातिर जित्नका लागि मात्र मैले राजनीति गरेको छैन । महिला, अल्पसंख्यक, पिछडावर्ग र सीमान्तकृत समुदायको उत्थानका लागि राजनीतिमा लागिपरेको छु । त्यस्तै, गोरखा आन्दोलनका मुद्धा समाधानका लागि पनि मेरो विशेष पहलकदमी बढाउनेछु ।
गोरखा आन्दोलनका समस्या समाधान कसरी गर्ने ?
गोरखा आर्मीका समस्याहरु राज्यले बुझ्नपर्छ । राज्यले बेलायतमा बसेका गोरखाली लाहुरेहरुको मुद्धाहरुलाई सुनुवाई नै गरेको छैन । जतिपटक आफ्ना जायज मागहरु पूरा गर्न नारा जुलुस गरे पनि राज्यले त्यसतर्फ खै ध्यान दिएको ? आफ्नो देशको नागरिक नै नभएजस्तो चुप लागेर राज्य मस्तसँग बसिरहेको छ । यसो भनिरहँदा कसैलाई अचम्म लाग्ला तर, म आफैँ पनि यसबाट पीडित छु । त्यसैले राज्यले आफ्ना नागरिकलाई नै नचिन्ने त हुँदैन नि ! अन्य एजेन्डासँगै यो आन्दोलन पनि मेरो अर्काे एजेन्डा हो । र, अब झन् यो आन्दोलन बुलन्द गर्नका लागि पनि मेरो उम्मेदवारी हो ।
२०४३ देखि राजनीतिमा होमिएर अहिलेसम्म आइपुग्दा कस्तो देख्नुहुन्छ देशको अवस्था ?
अहिलेसम्म भोगेको, देखेको राजनीतिक यात्राले देशको मुहार फेर्दैन । देशको मुहार फेर्नका लागि नयाँधार पक्रनैपर्छ । त्यो नयाँधार आदिवासी अर्थात ‘इन्डिजिनिएस मुभमेन्ट’ नै हो । किनकि अहिले संसारमा ‘इन्डिजिनिएस मुभमेन्ट’ बाट राज्य सञ्चालन कसरी भइरहेको र देशको विकास कुन गतिमा अघि बढिरहको छ भनेर पनि हेर्न जरुरी छ । त्यसैले अबको २१ औँ शताब्दीमा आदिवासीको ‘मुभमेन्ट’ कसरी अघि बढिरहेको छ त्यो धार पक्रन पनि जरुरी छ । त्यसका लागि संसद्मा त्यसको प्रतिनिधि भएर जान जरुरी छ ।
‘इन्डिजिनिएस मुभमेन्ट’ भनेको चाहिँ कस्तो धार हो ?
‘आदिवासी मुभमेन्ट’ त्यो हो जस्ले मात्र आफ्नो गाउँ, ठाउँ, भूगोल र विकासबारे प्रष्टसँग बुझेको छ । र, यो मुभमेन्ट खास समयमा मात्र देखिन्छ र, अबको राजनीतिको नयाँ धार ‘इन्डिजिनिएस मुभमेन्ट’ नै हो । चाहे कसैले विरोध गरोस् वा समर्थन । म त भन्छु– आदिवासी जनजाति आयोगजस्तै ‘इन्डिजिनियस मिनिस्ट्री’ आवश्यक छ ।
विभिन्न राजनीतिक पार्टीमा आबद्ध हुँदै अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा हुनुहुन्छ । कतिपयले मधेसी पार्टीमा गएर बिलय भयो पनि भन्छन् । के भन्नुहुन्छ ?
मेरो राजनीतिक यात्रा नेपाली कांग्रेसबाट भएको हो । कांग्रेस, कम्युनिष्टलगायत विभिन्न पार्टीहरुलाई नियाल्दा ती पूराना पार्टीहरुले दशको स्वरुप फेर्दैन भनेर म नयाँ शक्ति पार्टी नेपालमा लागेकी थिए । तर, जब नयाँ शक्तिमा भित्रिए तर, त्यसले पनि नाराअनुसारको काम गर्न नसकेपछि बिदा भए र अलग धारको राजनीतिमा समाहित भए । अहिले मैले प्रतिनिधित्व गरिरहेको पार्टी कुनै मधेसी दल नभएर सिंगो नेपालवासीको पार्टी हो । जहाँ विविधितासँगै विकासको प्रष्ट अनुहार देख्न सकिन्छ ।
जनता समाजवादी पार्टी (जसपा) फुटेपछि तपाई महन्थ ठाकुर नेतृत्वको लोसपामा जानुभयो । कुनै बेला नयाँ शक्तिको खम्बा नै भएर काम पनि गर्नुभयो । के डा. बाबुराम भट्टरार्ई भन्दा बौद्धिक र देश बुझ्ने नेता महन्थ ठाकुर नै रहेछन् ?
राष्ट्रिय राजनीतिलाई कुनै स्वार्थमा परिणत नगरेर अहिलेसम्म पनि आफ्नो एजेन्डा तलमाथि नपारेर निरन्तर राजनीतिमा जो अडिग रह्यो– त्यो व्यक्ति हो महन्थ ठाकुर । जो हामी सबैको आदर्श व्यक्ति हुनुहुन्छ । उहाँले कहिल्यै आफ्नो एजेन्डामा विचलन रहनुभएन । त्यस्तै, पार्टीमा राजेन्द्र महतोजस्तो साँच्चिकै एजेन्डा बोक्ने व्यक्ति हुनुहुन्छ ।
नयाँ शक्ति पार्टी नेपाल पत्तासाफ हुनुको कारणचाहिँ के देख्नुहुन्छ ?
इन्द्रेणी राष्ट्रवाद मात्र देखियो । खाली आदर्शको मात्र खेती गरिएको जस्तो लाग्यो । आदिवासी जनजाति, महिला, खस, आर्यलगायत सबै क्लस्टर मिलाउने भनेर नयाँ शक्ति भनिए पनि खास एजेन्डा केही भेटिएन । अरु पार्टीजस्तै खाली समृद्धिको नारामात्र फलाक्ने काम भयो ।
संविधानमा महिलालाई ३३ प्रतिशतको अधिकार छ । पार्टीमा महिलाको हकमा त्यो अधिकार प्राप्त भएको देख्नुहुन्छ ?
राज्यले बनाएको नीतिअनुसार नै महिलालाई पनि उम्मेदवार बनाइएको छ । सबै महिलाले ठाउँअनुसारको उम्मेदवारी पाउनुभएको छ । यसमा कुनै असहमति देखाउनु आधार छैन ।
समानुपातिक उम्मेदवारमा पैसावाल र नजिककालाई मात्र उम्मेदवार बनाएको देखियो । यस विषयमा तपाई के भन्नुहुन्छ ?
यो प्रश्नभन्दा म निकै पर छु । हो, म लाहुरे परिवारकी हुँ । तर, म पैसा र शक्तिका लागि कहिल्यै राजनीति गरिन । यदि यहिँ गर्नु थियो भने मलाई अपुग के थियो र ? म सदैव बहुल राज्यसहितको परिकल्पना गर्दै राजनीतिमा होमिए । र, आजसम्म पनि महिला, पिछडावर्ग, सीमान्तकृत, आदिवासीको मुद्धा नै मेरो प्राथमिकतामा छन् ।
अन्तमा केही भन्नुहुन्छ कि ?
म एउटा जनजाति महिला हुँ । बोलीभन्दा पनि काममा विश्वास गर्छु । बोलेर होइन काम गरेर देश विकास र समृद्धि हुन्छ भन्नेमा विश्वास राख्छु । त्यसैले बोलेरभन्दा पनि काम गरेर देखाउनकै लागि उम्मेदवारी दिएकी हुँ।