काठमाडौं । ‘एमालेमा आउनुपर्छ भेलु बा भन्दाखेरी ‘खै के भन्नु त’ भनेर जानकारी गराए । दुई हजार रुपैयाँ पैसा दिएका थिए । सूर्यमा भोट हाल्नुपर्छ भन्नुभएको थियो क्यारे ! मैले हुन्छ भनिदिए । मैले ढाँटेको होइन ।’
यी माथिका भनाइ अहिलेका सामाजिक सञ्जालमा चर्चित ६२ वर्षीय वृद्ध हुन भेलु बाजे अर्थात् मीनबहादुर बूढा । उनी प्युठानका हुन् । उनको जिल्लाबाट अहिले सत्ता गठबन्धन र नेकपा एमालेबात दुई उम्मेदवारबीच आगामी मंसिर ४ को निर्वाचनमा कडा प्रतिस्पर्धा हुँदैछ ।
तिनै दुई प्रतिस्पर्धीमध्ये एमालेका उम्मेदवार सुर्य थापाले आफूलाई सूर्य चिन्हमा भोट माग्दै दुई हजार रुपैयाँ दिएको भेलु बाजेले युट्युबतिर भनेका छन् । उम्मेदवार थापाले फेसबुकमा भेलु बाजेसँग तस्वीर खिचाउँदै लेखेका पनि छन्– ‘प्युठान नगरपालिका वडा नं ५ जुम्रिकँडा, ठुलागाउँमा चुनावी भेटघाट। भाइरल भेलुबाजे (मीनबहादुर बुढा) को समेत खुला साथ।’
गत आइतबार प्युठानको जुम्रिकाँडामा एमालेको चुनावी कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा भेलु बाजे पनि देखिए र उनले सूर्यमा भोट हालौँ भनेको भिडियो बाहिरिएपछि एमालेनिकट सबैले उक्त भिडियो भाइरल बनाए भोटका लागि ।
तर, सोमबार एकाएक भेलु बाजेको अर्काे भिडियो बाहिरियो । उक्त भिडियोमाब भेलु बाजेले एमालेले आफूलाई २ हजार रुपैयाँ दिएर जबर्जस्ती भोट माग्न लगाएको र आफूले पनि हुन्छ भन्दै पैसा लिएको बताएका छन् ।
आफूलाई माओवादी समर्थक भनेर चिनाउने भेलु बाजेले त्यसपछि भनेका छन्, ‘चोरेको होइन, ढाँटेको होइन । दुई हजार दिए खाएँ । अब कांग्रेसले दियो भने पनि खाइदिने हो । भोट हाल्ने बेला जेलाई मन लाग्छ हाल्छु ।’
खासमा निर्वाचन आचासंहिताअनुसार कुनै पार्टीले पैसा दिएर, बाँडेर मतदाता फकाउन र भड्काउन पाइँदैन । तर, भेलु बाजेको त्यो भिडियो हेर्ने हो भने वा निर्वाचन आयोगले त्यता ध्यान दिने हो भने सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरणसँगै उम्मेदवार पनि खारेज गर्न सक्छ । तर, अहिलेसम्म आयोगको ध्यान त्यता परेजस्तो देखिँदैन ।
एमालेका उम्मेदवार थापासँग प्रतिस्पर्धामा उत्रिएकी दुर्गा पौडेलले पनि केही दिनअघि भेलु बाजेलाई भोट माग्न लगाएको भिडियो बाहिरिएको थियो । भिडियो मोहनविक्रम सिंहका छोरा अशोकविक्रमले शेयर गरेका छन् । अहिले एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा दलहरु मतदाता आफूतिर तान्न अनेक तिकडम गरिरहेका छन् ।
मत माग्न घरदैलो र चुनावी कार्यक्रममा अहिले सामाजिक सञ्जालमा सबैले चिन्न भेलु बाजेलाई चुनावी अस्त्रका रुपमा प्रयोग गरिहेका छन् ।