खोटाङ । थाइल्याण्डको पटायामा नोभेम्बर १५ देखि नोभेम्बर २२ सम्म हुने विश्व मुवाँथाई प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि डेनिका राईलाई हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
प्रतिस्पर्धाका लागि थाइल्याण्ड जान लागेकी राईलाई आर्थिक अभाव भएपछि नगरपालिकाले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको मेयर विमला राईले जानकारी दिएकी हुन् ।
मेयर राईका अनुसार प्रतिस्पर्धाका लागि थाइल्याण्ड जान आर्थिक अभाव भएपछि डेनिकाकी बुवा एकप्रसाद राईले नगरपालिकामा आर्थिक सहयोगका लागि निवेदन दिएका थिए ।
डेनिका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकी हुन् । डेनिकासँगै गुणराज रुचाल पनि प्रतिस्पर्धाका लागि थाइल्याण्ड जाँदैछन् । गुणराजले थाइल्याण्डमा पुरुषतर्फ ५७ केजी तौल समूह र डेनिका महिलातर्फ ४८ केजीमा प्रतिस्पर्धा गर्दैछन् ।
नेपाल मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतीले डेनिका र गुणराजलाई खेलमा विजयी प्राप्ति होस् भन्दै शुभकामनासहित बिदाइ गरेका छन् । आज मंगलबार दिउँसो उनीहरु थाइल्याण्डतर्फ प्रस्थान गरेका छन् ।