काठमाडौं । ओखलढुंगामा यतिबेला चुनावी रौनकले तातेको छ । उम्मेदवारहरु जित सुनिश्चित गर्न कार्यकर्ताका साथ गाउँ गाउँ, बस्ती बस्तीमा पुगिरहेका छन् । जहिल्यै उहिँ शैली अपनाएर जाने उम्मेदवारहरु यसपटक पनि ‘नमस्कार’ गर्दै जनताको घरदैलोमा भोट माग्न पुगिरहेका छन् । तर, यसअघि सांसद भएर गएपछि कामचाहिँ कति गरे ? त्योचाहिँ ओखलढुंगेली जनताले नै लेखाजोखा गरेका होलान् ।
बुधबार सखरे,मोलुङ–८, राङ्गादिपमा एमालेको चुनावी यात्रा थियो । एमालेबाट आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका यज्ञराज सुनुवार र प्रदेश सभा निर्वाचनतर्फ क्षेत्र नम्बर १ का उम्मेदवार अम्बिरबाबु गुरुङ त्यहाँ कार्यकर्तासहित पुगेका थिए ।
२०७४ को निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार भई नेपाली कांग्रेसका प्रतिस्पर्धामा उत्रिएका रामहरी खतिवडालाई सुनुवारले भारी मतान्तरले पराजित गरेका थिए । ०७४ मा जितेर गए पनि जनताले जितअनुसारको खासै उपलब्धिमूलक काम नगरेको गुनासो पोखिरहँदा बुधबार राँगादिपमा सुनुवार र गुरुङको राम्रै सम्मान भयो ।
मूलवासी राईहरुको विशेष थलो रहेको उक्त ठाउँमा स्थानीयवासीले दुवैलाई सयपत्रीको मालाले टाउँको नै पुर्ने गरी माला लगाइदिए । मालासँगै उनीहरुलाई अबिर र खादा पनि लगाइएको थियो । टाउँको नै पुर्ने गरी स्थानीयले माला लगाइदिएपछि उनीहरुलाई बाहिर आँखाले हेर्न सास्ती परेको देखिन्थ्यो ।
उक्त सम्मानपश्चात् उम्मेदवार सुनुवारले लेखेका छन्, ‘जहिले देखि मैले र हाम्रो पार्टीले ओखलढुंगाववासीको यस्तो माया पायौं, त्यसबेलादेखि हाम्रो यात्रा अघि बढेको बढै छ !! २०७९ कात्तिक २३ गते, सखरे, मोलुङ–८ ,राङ्गादिप !!’