काठमाडौं । ‘द कमाण्डो’ मा मुख्य नायकका रुपमा देखिएका अभिनेता राजकुमार राई २४ वर्षपछि फेरि मूख्य भूमिका देखिँदै छन् ।
अभिनेता राई अभिनीत चलचित्र ‘सोल अफ द कमान्डो’ यहिँ मंसिर २३ (डिसेम्बर ९) देखि प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण टिमले चलचित्रको दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको छ ।
सन् १९९८ मा फिल्म ‘कमाण्डो’ मा मुख्य भूमिकामा देखिएका अभिनेता राई त्यसपछि चलचित्रको पर्दामा देखिएका थिएनन् । तर, २४ वर्षपछि अभिनेता राई पुनः चलचित्रमा फर्किएका छन् ।
युवराज (वीरबहादुर) राईद्वारा निर्देशित चलचित्रमा राजकुमारसँगै शिशिर वांग्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, कमला खापुङ्ग लिम्बु, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, सुष्मिता लिम्बुलगायत कलाकारको बेजोड अभिनय रहेको छ।
चलचित्रको कार्यकारी निर्माताको भूमिका विजय एल राईले निर्वाह गरेका छन् । सिलिचुङ फिल्म प्रालिले निर्माण गरेको चलचित्रको निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बू पनि रहेका छन् ।
को हुन् राई ?
अभिनेता राई चलचित्रसँगै खेलाडी हुन् । अभिनेता राईले सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौं एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक र सन् १९९९ मा नेपालमा भएको आठौं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक जितेका छन् ।