Advertisement 1
काठमाडौं । पिता भीमबहादुर तामाङ र माता फुलमाया तामाङ । जन्मस्थान, भोजपुर (तत्कालीन हेलौछा गाउँपालिका) नगरपालिका–२ । ३ भाइमध्ये कान्छो । सदरमुकाम भोजपुरको विद्वदय मा.वि.बाट २०४३ सालमा एस.एल.सी. प्रथम श्रेणीमा उत्तीर्ण । एस.एल.सी.मा जिल्ला टप गरेपछि सोही स्कुलमा ३ महिना शिक्षक (गणित, अंग्रेजी र भुगोल विषय) पनि बने । स्कुलमा विशेषगरी ८ कक्षाका विद्यार्थीलाई पढाउँथे भने ९ र १० का विद्यार्थीलाई पनि ट्युसन पढाए ।
एसएलसीपछि डिप्लोमा अध्ययनका लागि पुल्चोक इन्जिनियरिङ् कलेज भर्ना । डिप्लोमापछि कमर्सको तीन वर्षे स्नातक (बि.क.म) अध्ययन पूरा गरेर २०५२ सालमा प्रहरी परीक्षक (इन्सपेक्टर) मा भर्ती । असोजमा तालिममा छिर्नु र फागुन १ देखि जनयुद्ध सुरु हुनु संयोग भइदियो ।
Advertisement 2
इन्सपेक्टर बन्नुअघि खानेपानी संस्थानमा ५ वर्ष काम गरे, खुला प्रतिस्पर्धाबाटै नाम निकालेर । २०४७ सालमा ओभरसियर बनेर खानेपानी संस्थानमा प्रवेश गरेका उनले २०५१ मा राजीनामा दिए । संस्थानको सरकारी जागिर त्यागेर अबको बाटो कता डोर्याउने ? भन्ने सोचिरहेको अवस्थामा प्रहरी प्रहरी निरीक्षकको भर्ना खुल्यो । आवेदन दिए । अनि बने राष्ट्रसेवक ।
उनी हुन्, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) अर्थात् काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ । भावी प्रहरी महानिरीक्षक (आइजीपी) का रुपमा हेरिएका तामाङ साहित्यमा पनि उत्तिकै दख्खल राख्दछन् । कवि र गीतकारका रुपमा कहलिएका उनै एआइजीपी तामाङसँग मूलधारका लागि लोकराज रुम्दाली र नवीन राईको छोटो मीठो साहित्यिक बातचित :
Advertisement 3
साहित्य आरम्भ
विद्यार्थी कालदेखि नै साहित्यमा औँधी रुचि थियो । अध्ययसँगै अतिरिक्त क्रियाकलाप (कविता, हाजिरीजवाफ, वक्तृत्वकला, वादविवाद) मा भाग लिन्थे । टिफिन टाइम (दिवा खाजा समय)मा उनी पुस्तकालयमा हुन्थे । स्कुले अध्ययनको क्रममा पुस्तकालयमा भोलुन्टेयर (स्यवंसेवक) भएर पनि सेवा गरे । चाहेका, चाख लागेका पुस्तक पढे । ९ र १० कक्षामा अध्ययनरत रहँदा थुप्रै साहित्यिक पुरस्कार प्राप्त गरे । सायद त्यो पुरस्कार छाप नै साहित्यको उद्गम बिन्दू हुन सक्ने उनको ठम्याइ छ ।
विद्यार्थी कालमा विशेषतः महाकवि लक्ष्मीप्रसाद देवकोटाका पुस्तक औँधी पढेको उनी सम्झन्छन् । देवकोटाका कृतिले उनको मानसपटलमा गहिरो छाप छाडेको थियो । र, उनी पनि मनमा कतै आफूलाई देवकोटा भएको पाउँथे । यद्यपि, विद्यार्थीकालमा अध्ययन गरेका साहित्यिक पुस्तक, पाएका साहित्यिक पुरस्कार नै उनको साहित्य यात्राको उद्गम बिन्दू बन्न पुग्यो ।
साहित्यमा समय व्यवस्थापन
कुराकानीका क्रममा गीतकार तामाङलाई प्रश्न थियो– ‘साहित्यमा समय व्यवस्थापनचाहिँ कसरी गर्नुहुन्छ ?’ समय व्यवस्थापनको पछाडि इच्छाशक्ति नै प्रमुख रहेको उनी बताउछन् । साहित्यका लागि भनेर कुनै निश्चित ठाउँ, परिवेश छुट्याउँदैनन् । युएन मिसनमा गएको बेला पनि समय मिलाएर साहित्य कोरेको सम्झना अझैँ ताजा छ उनलाई । उनी भन्छन्, ‘साहित्य लेख्छु भनेर लेखिँदैन रहेछ । म पनि साहित्य लेख्छु भनेर कुनै समय छुट्याउँदिन । जहाँ फुर्छ त्यहिँ बेला शब्द कोरिहाल्छु ।’
पहिलो कुरा अनुभूति रहेछ साहित्य । अनुभूतिका लागि कुनै स्थानमा जानुपर्छ नै भन्ने छैन । चन्द्रमामा बिरलै मान्छे पुगेका छन्, तर चन्द्रमामाको वर्णन त्यहिँ पुग्नेले मात्र गर्न सक्छ अरुले गर्न सक्दैन भन्ने हुन्न । भनाइ नै छ नि जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ कवि । हो, गीतकार तामाङ अनुभूतिले शब्दका बुट्टा भर्छन् ।
उनी भन्छन्, ‘दोलखको सैलुङ पुगेको थिइनँ तर त्यतिबेला त्यहाँ नपुगेपनि मैले सैलुङका बारेमा गरिएका वर्णनका आधारमा २ वटा गीत बजारमा ल्याइसकेको छु । मतलब मेरा लागि लेखन अनुभूति नै साहित्यको बिऊ रहेछ । पछि सैलुङ पुगेर भजन गीत पनि लेखेँ । जुन मेरो अनुभव बन्यो ।’ अनुभव र अनुभूति सँगसँगै जोडिएर आउने हाँगा नैै भए पनि टाढा बसेर पनि अनुभूतिमार्फत पनि उत्तिकै सुन्दर साहित्य (शब्द) सिर्जना गर्न सकिने उनको बुझाइ छ ।
भावनाबिनाको मान्छे सायद को नै होला र ? उनले फौजीमा कति कठीन हुन्छ भनेर आफ्ना भावनालाई गीतमार्फत् मार्मिक ढंगले प्रस्तुत गरेका छन् । साँच्चै भन्ने हो भने उनले कोरेका गीतहरुमा मार्मिकता र राष्ट्रियता पाइन्छ । उनकै शब्दमा भन्नुपर्दा साहित्यको तृष्णा न कहिल्यै मेटिन्छ, न कहिल्यै थकान लाग्छ । उनका अनुसार त्यो तृष्णा त अझ झन्झन बढेर पो जान्छ । त्यसो त ‘के आउँछ त अब ?’ भन्ने साथीभाइको चासो, हौसला, माया र प्रेरणाले पनि अझ यो यात्रा अथक रहेको उनी सुनाउँछन् । साहित्य देशको समृद्धिको एउटा अंश पनि हो भन्ने उनको दाबी छ । उनी भन्छन्, ‘साहित्य, संगीत कलाले कतै न कतैबाट देशको समृद्धिमा टेवा पुर्याएको हुन्छ ।’
संसारमा नाम कहलिएका राष्ट्रप्रमुख (राष्ट्रपति, प्रधानमन्त्रीलगायत) पनि लेखक, कवि, गीतकार बनेको उदाहरण छन् । नेपालमा पनि छन् । फौजी पेशामा आबद्ध भएकाहरु त झन् धेरै छन् । नेपालमा गीतकार तामाङजस्ता फौजी पेशामा आबद्ध कयौँ गीतकार, गायक, कविलगायत साहित्यमा आबद्ध छन् । उनीहरुले आफ्नो पेशासँगै नेपाली साहित्यको उत्थान पनि गरिरहेका छन् ।
फौजीमा साहित्य साधनाको समय मात्र कमी हो कि जस्तो महसुस गर्छन्, गीतकार तामाङ । ‘मात्रै के फरक हो भने एउटा स्वतन्त्र लेखकलाई जति साधना चाहिने हो त्यति नहोला । शत प्रतिशत प्रस्तुती दिन नसकिएला, तर १० प्रतिशतको इच्छाशक्ति पनि शत प्रतिशतको अंश त हो नि !’
जनताको सेवा कि साहित्य ?
यी दुवै उनको रोजाइको विषय भएकाले कुनै एउटा रोज्न उनी सक्दै सक्दैनन् । साहित्यले गीतकार र जनताको सेवा गरेबापत् छुट्टै दज्र्यानी, चिन्ह (तक्मा) प्राप्त छ । उनका लागि यी दुवै नै अमूल्य सम्पत्ति हुन् । ‘यी दुवै मेरा अमूल्य सम्पत्ति हुन् । प्रहरी पेशा कानुनको पालना र कार्यान्वयनको मूल मन्त्र हो भने साहित्य सिर्जना हो । जनताको सेवामा कानुनअनुसार जिम्मेवारी बहन गर्नुपर्छ भने साहित्यमा दर्शक, पाठक, श्रोताको आआफ्नो साहित्यिक स्वाद हुन्छ । सबैलाई एउटै खाले कृति मन नपर्न सक्छ,’ गीतकार तामाङ भन्छन्, ‘विविधता नै त साहित्यको परिचय हो । सबैलाई एउटै कृति मन परे त साहित्यको मज्जा भएन नि । त्यसैले साहित्यको सीमा त अपार छ ।’
पाइपलाइनमा कृति….
गीतकार तामाङले १ हजारभन्दा बढी कृति लेखिसकेका छन् । उनको पछिल्लो गीत ‘नेपाली हो..’ हो । स्वरका धनी गायक राजेशपायल राई, शिव परियार, प्रमोद खरेलदेखि मेलिना राईले गीतकार तामाङको गीतमा स्वर भरेका छन् । त्यसो त राजकुमार बगरको संगीतमा ‘जित्नेहरुको पनि यहाँ हजार हजार हार हुन्छ,’ कन्काइस राईको संगीतमा रामकृष्ण ढकाल र अन्जु पन्तको स्वर रहेको गीत पनि बजारमा चाँडै आउँदैछ । त्यसपछि पनि थुप्रै सिर्जनाहरु ‘पाइपलाइन’ मा रहेको उनी बताउँछन् । यद्यपि, मिति भने अहिले नै तय भएको छैन ।
गीतकार तामाङको पहिलो गीत ‘छाल आउँदा सम्झनाको’ रेकर्ड म्युजिक नेपालमा भएको थियो, २०५० सालमा । अभय क्षेत्रीको संगीत रहेको उक्त गीतमा केदार गोलेको स्वर रहेको छ । बीचमा विविध कारणले गीत रेकर्ड हुन सकेन । त्यसपछि २०६६ सालपछि भने उनी पुनः साहित्यमा फर्किए । र, यात्रा निरन्तर छ ।
गीतकार तथा कवि तामाङले पुस्तकका रुपमा २ वटा राष्ट्रिय भावधारका कविता संग्रह (३०० वटा) र भजन संग्रह (१३२ वटा लगभग) लेखिसकेका छन् भने आधुनिक गीत झण्डै ५ सय गरी झण्डै एक हजार गीतको शब्द कोरेका छन् । त्यसमध्ये पनि आधुनिक गीतहरु पुस्तकका रुपमा आउन बाँकी नै रहेको उनी सुनाउँछन् ।
उनका अनुसार आधुनिक गीत, भजन गीत र राष्ट्रिय गीत गरेर १ सय वटा रेकर्ड भइसकेको छ भने बाँकी ५ देखि ७ वटा रेकर्ड हुन बाँकी रहेको छ । यी गीतमध्ये १५ वटा युट्युब भिडियोमा अपलोड भइसकेका भने बाँकी सबै अडियोमा सुन्न पाइन्छ ।
गीति एल्बम् तथा प्रकाशित पुस्तक संग्रह
२०६७ सालमा ‘माटोको आवाज’ राष्ट्रिय गीत तथा कविता संग्रह र ८ गीतहरु समावेश ‘स्वदेश’ एल्बम एकैपटक प्रकाशित । २०६९ सालमा ९ वटा गीत समावेश ‘जीवनसाथी’ एल्बम । २०७० सालमा ‘आमा’ एल्बम (५ वटा गीत समावेश) । र, २०७५ सालमा ‘नाता एल्बम’ (८ वटा गीत समावेश) गरी ४ वटा एल्ब बजारमा आइसकेका छन् । पुस्तकका रुपमा ‘माटोको आवाज’, ‘नेपाल आमा’ (२०७८) गीत र ‘भक्ति सागर’ भजन संग्रह प्रकाशित भएका छन् । समग्रमा ३ वटा पुस्तक र ४ वटा एल्बमसँगै फुटकर एल्बम सार्वजनिक भएका छन् । त्यस्तै, ‘बिन्दास २’ र ‘द गेम’ चलचित्रमा समेत गीतकार तामाङले गीत लेखेका छन् ।
पर्यटक होइन यात्री
गीतकार र कविको उपाधि आम दर्शक, श्रोताले मायाले बोलाउने नाम हो भने कृति सबथोक रहेको उनी सुनाउँछन् । त्यसो त आफ्नो साहित्यिक कार्यले अरुलाई पनि प्रेरणा मिलेकोमा उनी आफूलाई भाग्यमानी ठान्छन् । उनी भन्छन्, ‘प्रहरी पेशामा आबद्ध रहँदा रहँदै साहित्यमा लाग्नेहरुलाई पनि प्रेरणा दिएकोमा आफूलाई भाग्यमानी ठान्दछु । मैले लेखेकै कारणले कसैले साहित्य लेखन थाल्छ भने त्यो भन्दा ठूलो उपलब्धि के होला र !’
त्यस्तै, गीतकार तामाङको गीतबाट धेरै नव गायक, गायिकाले सांगीतिक यात्रा थालनी गरेका छन् । त्यसो त उमेरले ५० कटेकाले पनि उनकै गीतमा आवाज भरेका छन् । यो उनको साहित्यिक यात्राका नमेटिने क्षणहरु हुन् । गीतकार तामाङ साहित्य (गीत, कविता) लेखनमा केवल अविरल बग्न चाहन्छन्, गन्तव्यमा पुगेर थकान मेट्ने पर्यटक होइन यात्री बन्न चाहन्छन् उनी ।