२०८१ चैत्र ८ गते शुक्रबार ०९:३८

कालिका विद्यालय जहाँ विद्यार्थीलाई किताबसँगै पढाइन्छ करेसाबारी

१८१७८ पटक पढिएको

Advertisement 1

खोटाङ। विद्यालय बालबालिकाका लागि दोस्रो घर हो, जहाँ विद्यार्थीहरुलाई भविष्यको सुन्दर गोरेटो कोर्न पठाइन्छ । विद्यालय पठाउँदैमा, जाँदै अर्थात् किताब घोक्दैमा विद्यार्थीहरुले भविष्यको बाटो कोरिहाल्छन् भन्ने हुँदैन । यसका लागि सैद्धान्तिक जति नै व्यवहारिक ज्ञानको पनि खाँचो हुन्छ । व्यवहारिक शिक्षाले बालबालिकालाई थप भविष्य कोर्ने पथ पहिल्याउन मद्धत पुग्छ र किताबसँगै यो उनीहरुलाई अपरिहार्य छ ।

यस्को ज्वलन्त उदाहरण हो, खोटाङको रावाबेस गाउँपालिका १ कुभिण्डे, दम्कुमा रहेको श्री कालिका आधारभूत विद्यालय । विद्यालयले विद्यार्थीलाई कक्षाको शिक्षासँगै करेसाबारीको शिक्षा पनि प्रदान गर्दै आएको छ । हरेक हप्ताको शुक्रबार विद्यार्थीलाई करेसाबारीबारे पढाइन्छ (व्यवहारिक शिक्षा) ।

Advertisement 2

३ वर्षदेखि सूचारु भइरहेको यो अभियानले विद्यार्थीलाई जागरुकमात्र होइन उनीहरुको क्षमता, सीप र ज्ञानमा उत्तिकै अभिवृद्धि गरेको विद्यालयका प्रधानाध्यापक टिकाराम राई बताउँछन् । प्रधानाध्यापक राईका अनुसार विद्यालयमा जारी यो कार्यले विद्यार्थीलाई आत्मनिर्भर बन्न कसरी सकिन्छ भन्ने पाठ सिकाएको छ ।

‘हाल विद्यार्थीले मूला, गोलभेडा, ब्रोकाउली, बन्दाकोभीलगायत सागसब्जीहरु उत्पादन गरिरहेका छन् । उनीहरुले उत्पादन गरेर आएको रकमले उनीहरुलाई आवश्यक सामाग्री खरिद गर्ने गरिएको छ,’ प्रधानाध्यापक राई भन्छन्, ‘बारी भाडामा लिएर विद्यार्थीहरुले तरकारी खेती गरिरहेका छन् । आम्दानी पनि मनग्य गरिरहेका छन् । यो अभियान सुरुवात भएको ३ वर्ष भएको छ ।

Advertisement 3

यसैगरी तरकारीबाट आम्दानी भएको रकमले छात्राहरुको स्वास्थ्य सामाग्री खरिदमा खर्च गरिँदै पनि आएको छ । किशोरीहरुको मासिक धर्मका बेला प्याड किन्ने, आराम कक्ष निर्माणका निम्ति आवश्यक सामानहरु (सोफा, तौलिया, साबुन, हटप्याकलगायत सामाग्री) खरिद गरिँदै आएको प्रधानाध्यापक राई बताउँछन् ।

यो अभियानालाई इको हिमाल नामक गैरनाफामूलक संस्थाले साथ दिइरहेको छ । उक्त संस्थाले करेसाबारी निर्माण, दिवा खाजाका निम्ति अर्गानिक खाजाको व्यवस्था (पोषणका निम्ति) विद्यार्थीहरुलाई सहयोग गरिरहेको छ भने विद्यार्थीलाई बिऊँ बिजन उपलब्ध गर्दै आएको छ ।

प्रधानाध्यापक राईका अनुसार यस अभियानका निम्ति ११ सदस्यीय टोली गठन गरिएको छ । त्यसभित्र एक शिक्षकसहित विद्यार्थीबाटै चुनिएको संयोजकले टोलीको नेतृत्व गर्दछ । हाल कक्षा ७ मा अध्ययनरत छात्रा खुसी राईले टोलीको नेतृत्व गरिरहेकी छिन् भने प्रत्येक वर्ष टोलीको संयोजक परिवर्तन हुन्छ ।

अहिले खोटाङको ऐसेलुखर्क र रावाबेसी गाउँपालिकाका २ विद्यालयमा यो अभियानले तीव्रता पाएको प्रधानाध्यापक राईको भनाइ छ । विद्यालयमा उत्पादन हुने तरकारी बिक्री वितरणमा कुनै समस्या छैन । विद्यार्थीले उत्पादन गरेको तरकारी किन्न स्थानीय विद्यालय नै पुग्दछन् र आफ्ना बालबच्चाको सीप देखेर दंग पर्दै घर फर्कन्छन् ।

यो अभियानको प्रमुख उद्धेश्य भनेकै विद्यार्थीलाई व्यवहारिक शिक्षा दिलाउनु रहेको प्रधानाध्यापक राई बताउँछन् । व्यवहारिक शिक्षण सिकाईलाई प्राथमिकता दिइँदै आए पनि विद्यार्थीले आर्जनको बाटो पनि कसरी पहिल्यान सकिन्छ भन्ने पाठ पनि सिकेको उनको भनाइ छ । उनका अनुसार विद्यार्थीले व्यवहारिक शिक्षाकै क्रममा उत्पादन गरेका तरकारी बिक्री गरेर हालसम्म ३५ हजार आर्जन गरेका छन् ।

बर्थडे अवधारणा

बर्थडे अर्थात् जन्मदिन मनाउनु नराम्रो कदापी होइन । तर, मनाउने तरिका कस्तो छ त्यो मुख्य विषय हो । बर्थडे सेलिब्रेसनलाई कालिका विद्यालयले एउटा नयाँ अवधारणा ल्याएको छ । कुनै पनि विद्यार्थीको जन्मदिनको अवसरमा गमलामा नाम लेखेर विद्यार्थीले विद्यालयमा लैजान्छन् र उक्त गमला एउटा दस्तावेजका रुपमा रहन्छ । यो अवधारणा प्रधानाध्यापक राईले नै ल्याएका हुन् ।

सोही वडाका वडासदस्य विशाल राईले बर्थडेमा गमलासँगै खुत्रुके अवधारणा ल्याएका छन् । खुत्रुके अवधारणा भन्नाले कुनै पनि विद्यार्थीले आफ्नो जन्मदिनमा खुत्रुकेमा स्वेच्छिक रकम खुत्रुकेमा जम्मा गरिन्छ । खुत्रुकेमा जम्मा भएको रकमले उनीहरुकै आवश्यकीय सामानमा खर्च गरिने प्रधानाध्यापक राई बताउँछन् ।

खुत्रुके अवधारणा अहिले गाउँ हुँदै विदेशमा पनि छाएको छ । गाउँका अभिभावकले आफ्ना छोराछोरीको जन्मदिन र स्वयम् आफ्नो जन्मदिनमा पनि अभिभावकले खुत्रुकेमा विद्यार्थीका लागि पैसा जम्मा गरिदिन्छन् भने विदेशमा रहेकाले पनि उतैबाट विद्यार्थीको जन्मदिनका लागि भनेर खुत्रुकेका लागि पैसा पठाइदिन्छन् । जन्मदिनको अवसरमा यो नयाँ अवधारणा सबैका लागि नयाँ सन्देश भएको प्रधानाध्यापक राईको भनाइ छ ।

नृत्य प्रशिक्षक कोइराला सम्मानित

एआइजीपी टेक तामाङ : जो साहित्यमा अविरल बग्न चाहन्छन्

अमेरिकाबाट फर्काइएकालाई सोधपुछपछि परिवारको जिम्मा