Advertisement 1
काठमाडौं । कायममुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले बुधबार अपराह्नदेखि नै २६ औँ परराष्ट्र सचिवका रूपमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई परराष्ट्र सचिवमा नियुक्त गरेको हो ।
सन् १९७० मा संखुवासभाको चिचिला गाउँपालिकामा जन्मिएका राई सन् १९९६ मा निजामती सेवामा प्रवेश गरेका हुन् । निजामती सेवामा प्रवेश गरेको झण्डै दशकको अवधिमा परराष्ट्र सेवामा प्रवेश गरेका थिए । राई २००५ मा उपसचिवका रूपमा परराष्ट्रमा प्रवेश गरेका थिए।
Advertisement 2
परराष्ट्रको जिम्मेवारी सम्हाल्दै राईले आफूसामू चुनौती र अवसर दुवै रहेको बताए । उनले कार्यभार सम्हाल्दै गर्दा आइपर्ने चुनौतीको सामना गर्दै राष्ट्रको हितमा निष्ठापूर्वक लाग्ने पनि बताए ।
Advertisement 3
उनले भने, “हाम्रो देश चुनौती र अवरको दोसाँधमा छ । ती चुनौतीको सामना गर्दै अवसरलाई राष्ट्रको हितमा उपयोग गर्न निष्ठापूर्वक लाग्नेछु ।” देशलाई समृद्धिको दिशामा अग्रसर गराउन आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि सचिव राईले व्यक्त गरे।
सचिव राईले परराष्ट्र मन्त्रालयमा संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय सङ्गठनहरू र अन्तर्राष्ट्रिय कानुन महाशाखाको सहसचिवका रूपमा सेवा गरेका थिए।
मार्च २०१९ देखि जुन २०२३ सम्म राई संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि र न्युयोर्कमै काउन्सिलरको रुपमा पनि कार्यरत थिए भने राईले डिसेम्बर २०१४ देखि डिसेम्बर २०१८ सम्म दक्षिण अफ्रिकाका लागि नेपालको राजदूतको जिम्मेवारी सम्हालिसकेका छन्। कायममुकायम सचिव हुनुअघि उनले परराष्ट्र मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए।
सार्वजनिक सेवाको प्रारम्भिक वर्षमा सचिव राईले सन् २००३ देखि २००५ सम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सन् २००२ देखि २००३ सम्म सामान्य प्रशासन मन्त्रालयमा सेवा गरेका थिए।
सन् १९९६ मा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा शाखा अधिकृतको रुपमा उनले निजामती सेवा प्रारम्भ गरेका हुन्।
परराष्ट्र सचिव राईले जर्मनीको पोट्सडाम विश्वविद्यालयबाट सार्वजनिक व्यवस्थापन र त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।